२२ बैशाख २०८१, शनिबार

कस्तो छ कांग्रेस संसदीय दलभित्रको अंकगणित ?

newskarkahna news4267410.

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुने पक्का भएसँगै कांग्रेसको आन्तरिक राजनीतिमा पनि सन्तुलन परिवर्तनको संकेत देखिएको छ ।

संसदीय दलमा देखिएको सम्भावित प्रतिस्पर्धामा जो विजयी भएपनि कांग्रेसको पछिल्लो समीकरणमा फेरबदल हुने देखिएको हो ।

मंगलबार बिहान ११ बजेसम्म कांग्रेसमा जुन दृश्य थियो, संसदीय दलको नेताका लागि उम्मेदवारी मनोनयन दर्तासम्म पुग्दा देखिने गरी परिवर्तन भइसकेको छ । संथापन इतर समुहमा नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापामध्ये कसलाई दलको नेतामा उम्मेदवार बनाउने बहसमा लामै माथापच्ची चल्यो ।

जब इतर समुहमा नखुलेका महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीमा पराजित प्रदीप पौडेलसम्मले थापालाई समर्थन गर्नेभएपछि इतर समूह उत्साहित मात्रै भएन गगनलाई उम्मेदवार बनाउन तयार भयो । संस्थापन इतर तितरबितरको आरोप लागिरहेका बेला शेखरलाई उछिन्दै गगन कांग्रेसको इतर समूहका नेता बन्ने संकेत देखिएको छ । भावि समीकरणमा प्रभाव पार्नसक्ने केही नेता थापासँग जोडिएका छन ।

रामचन्द्र पौडेल
कांग्रेसको १३औं महाधिवेशनमा देउवाविरुद्ध तत्कालीन संस्थापन पक्षको उम्मेदवार बनेका पौडेल अन्ततः सभापति देउवाकै टिममा पुग्नुभएको छ । कांग्रेस संसदीय दलको नेता दाबी गर्दै आउनुभएका पौडेल राष्ट्रपतिको आश्वाशनसहित देउवाको प्रस्तावक बन्नुभयो । १४औँ महाधिवेशनमा आफ्नो समुहमा सहमति हुन नसकेपछि तटस्थ बसेका पौडेल खुलेपनि देउवालाई कति सिट लाभ हुनेहो निश्चित छैन । बरु कांग्रेसमा पौडेलको नयाँ यात्रा चाँही शुरु भएको छ(संस्थापन पक्षको नेताका रुपमा ।

विश्वप्रकाश शर्मा
गगन थापाको पक्षमा लामै समयदेखि खुल्दै आएपनि संस्थापन इतर समुहमा नलागेका शर्मा अन्ततः थापाको प्रस्तावक बन्नुभएको छ । योसँगै १४औं महाधिवेशनमा नेता प्रकाशमान सिंहसँगको शर्माको गठजोड सकिएको छ । अब शर्मा संस्थापन इतर समुहको नेतृत्व थापाले गर्नेगरी सहयात्री बन्नुभएको छ ।

प्रदीप पौडेल
देउवा विरोधी कित्तामा रहँदै आएपनि १४औँ महाधिवेशनमा देउवाकै समूहबाट महामन्त्रीमा उम्मेदवार बनेका पौडेललाई काठमाडौं–५ मा ल्याउन पनि देउवाकै देन छ । गगनका पक्षमा खुलेर नलागेका पौडेल मनोनयन दर्ताका क्रममा भने सँगै देखिनुभयो । योसँगै कांग्रेस नेता कृष्ण सिटौला पक्ष पनि विभाजित बनेको छ ।

शशांक कोइराला
कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला सभापति देउवाकै पक्षमा देखिनुभएको छ । कोइराला परिवारबीच एकताको बहस हुँदै आएपनि कोइरालाले शेखर बाहेकका नेतालाई संसदीय दलमा अस्वीकार गर्ने बताउँदै आउनुभएको थियो ।

प्रकाशमान सिंह
महामन्त्री विश्वप्रकाश शर्मा थापालाई समर्थन गर्ने अवस्थामा पुगेसँगै १४औं महाधिवेशनमा बनेको सिंहको उपसमूह पनि तितरबितर भएको छ । कांग्रेसका पूर्वउपसभापति एवं महामन्त्री प्रकाशमान सिंह स्वयं पनि देउवा क्याम्पमा पुगिसकेकाले उहाँको उपसमूह तितरबितर बनेको छ ।

विमलेन्द्र निधि
निधी लामो समय सभापति देउवाका विश्वास पात्रका रुपमा काम गर्नुभएको नेता हुनुहुन्छ । १४औं महाधिवेशनको दोस्रो राउण्डमा देउवालाई साथ दिएका निधी देउवालाई नै नेता बनाउने तयारीमा हुनुहुन्छ । यस्तोमा निधी समुह पनि संसदीय दलको नेता चयन प्रक्रियासँगै हराएको छ ।

योसँगै अब कांग्रेसमा देउवा र थापाको गुट विकास भएको छ भने शेखर समुहको नेतृत्व अब गगनले गर्ने अवस्था आएको छ । आगामी १५औं महाधिवेशनमा शेखरलाई साथ दिने भद्र सहमति गगनले पालना गर्ने हुन् या संसदीय दलको नेताका लागि साथ दिएका युवा नेताको साथमा आफै अघि बढ्ने हुन् त्यो चाँही भविष्यले निर्धारण गर्ला ।