२६ बैशाख २०८१, बुधबार

संसदीय दलको नेतामा देउवाको विकल्प छैन : उपसभापति खड्का

Purna Bahadur Khadka
फाइल फोटो

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्न देउवा नै अहिलेको उचित विकल्प भएको बताए । उनले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने बताए । उनले आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन स्वतः हुँदै जाने बताए । उपसभापति खड्काले संसदीय दलको नेतामा सभापति देउवालाई जिताउन पनि युवा सांसदहरुसँग आग्रह गरे ।

‘द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजानु छ । त्यसका लागि कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर अहिलेको सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव सबै खालको मिलाउनसक्ने कला सबै कारणले अहिलेका आवश्यक पार्टीका सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ,’ उनले भने, ‘आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरु नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरुलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔँ । यो गठबन्धन निरन्तर अघि बढ्छ । यही गठबन्धनको नेतृत्वमा सरकार बन्छ ।’

उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।