१५ बैशाख २०८१, शनिबार

स्थायित्व र रुपान्तरणका लागि गगनलाई अघि सारेका हौं : शेखर कोइराला

Shekhar Koirala
फाइल फोटो

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थायित्व र रुपान्तरणका लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको बताएका छन् ।

पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रस्तावका रुपमा कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उनले मंगलबार यस्तो बताएका हुन् । कोइरालाले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताए ।

‘हामीहरुबीच धेरै छलफल भयो । गगन थापाले भने जस्तै स्थायित्व र निरन्तरताका लागि हामीले गगन थापालाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनहरु हेर्दै जानुपर्छ । त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ ।’

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावमा भने शेखर कोइराला छन् भने समर्थनमा महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल, उपसभापति धनराज गुरुङ छन् ।