१४ बैशाख २०८१, शुक्रबार

फिफा विश्वकपको व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडी वर्चश्व रहे

World cu

फिफा विश्वकप २०२२ को व्यक्तिगत विधामा अर्जेन्टिनी खेलाडीको वर्चश्व रहेको छ ।

कतारको दोहामा भएको खेलमा अर्जेन्टिनालाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका मेस्सीले गोल्डेन बल जिते । उनले प्रतियोगितामा सात खेल खेल्दा सात गोल गरेका थिए भने तीन गोलका लागि सहयोग गरेका थिए ।

यसअघि सन् २०१४ को विश्वकपमा पनि यो पुरस्कारबाट मेस्सी सम्मानित भएका थिए । सन् १९८२ बाट विश्वकपमा यो अवार्ड दिन थालेयता दुई पटक यो पुरस्कार जित्ने मेस्सी पहिलो खेलाडी हुन् ।

यता प्रतियोगिताको सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पेले गोल्डेन बुट जितेका छन् । उनले सात खेलमा ८ गोल र दुई असिस्ट गरेका थिए । २३ वर्षीय एम्बाप्पेले फाइनलमा ह्याट्रिक गरेर खेललाई बराबरीमा ल्याएपनि उनको टिम पेनाल्टी सुटआउटमा हारेको थियो । यद्यपि, उनी विश्वकपको फाइनल खेलमा समग्रमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । सन् २०१८ मा फ्रान्सले क्रोएसियालाई हराउँदै विश्वकप जित्दा एम्बाप्पेले एक गोल गरेका थिए । मेस्सीले सिल्भर बुट जिते ।

यस्तै अर्जेन्टिनाका इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ जितेका छन् । कतार विश्वकपमा उनले तीन क्लिन सिट राखेका थिए भने दोहामा सबै खेलका सबै मिनेट खेलेका उनले फाइनलमा भएको पेनाल्टी सुटआउटमा किंग्सले कोमनको प्रहार रोकेका थिए ।

मोरक्कोका यासिन बोनोउ तथा इंग्ल्याण्डका जोडर्न पिकफर्डले पनि समान तीन खेलमा क्लिन सिट राखेपनि क्रमश: सेमिफाइनल र क्वाटरफाइनलबाटै बाहिरिएका थिए । यस्तै, अर्जेन्टिनाकै इन्जो फर्नान्डेज प्रतियोगिताका उदयीमान खेलाडी चुनिएका छन् । उनले समूह चरणमा मेक्सिकोविरुद्ध गोल गरेका थिए । फिफा फेयर प्ले अवार्ड इंग्ल्यान्डले जितेको छ ।