२२ बैशाख २०८१, शनिबार

स्थानीय जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व, जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न सक्नु पर्छ: प्रधानमन्त्री देउवा

pm sherbahadur deuba

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार जनताको घर आगनको सरकार भएकोले नगरपालिकाहरुले आफ्नो काम कारबाही थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।

नेपाल नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नगरपालिकाहरुले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सक्नु पर्ने बताएका हुन् ।

‘हाम्रो संविधानले स्थानीय तहलाई विकास निर्माण, सेवा र पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण अधिकार र जिम्मेवारी प्रदान गरेको छ,’ उनले भने, ‘स्थानीय सरकार जनताको घर आगनको सरकार भएकोले नगरपालिकाहरुले आफ्नो काम कारबाही थप चुस्त, पारदर्शी, प्रविधिमैत्री बनाउँदै अगाडि बढ्न आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले जनताको अपेक्षा र आवश्यकतालाई उचित सम्बोधन हुने गरी स्थानीय स्रोत साधनको समुचित परिचालन गर्दै स्थानीय जनप्रतिनिधिले जनताप्रतिको आफ्नो दायित्व, जवाफदेहीतालाई कुशलताका साथ निर्वाह गर्न सक्नु पर्ने बताए ।

उनले स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु पर्नेमा जोड दिए । ‘स्थानीय तहको सम्भाव्य, स्रोतको पहिचान, उचित परिचालन गरी स्थानीय तहलाई क्रमशः आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानु पर्छ,’ उनले भने, ‘स्थानीय सरकारले गरेका काम र प्रदान गरेका सेवाको आधारमा जनताले सरकारप्रतिको धारणा निर्माण गर्ने हो । नगरपालिकाहरुले जनताको विश्वास र मन जित्ने गरी काम गर्न सक्नुपर्छ । जनताको काम छिटोछरितो ढंगले बिना मोलमोलाइजा सम्पन्न गरी आम नागरिकमा सुशासनको प्रत्याभूति गराउन सबै नगरपालिका प्रतिबद्ध हुन आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले जनताले लिने सेवा बिना झन्झटिलो बनाउन पनि आग्रह गरे । उनले भने, ‘म सबै नगरपालिकाका पदाधिकारीहरुलाई जनताले लिने सेवा बिना झन्झट प्राप्त गर्ने प्रबन्ध मिलाउन आग्रह गर्दछु ।’

सम्बोधनको क्रममा उनले सबै नगरपालिकाहरु अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेको बताएँदै दीगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढ्न सुझाव दिए ।

‘आज मुलुकको अधिकांश नगरपालिकाहरु अव्यवस्थित सहरीकरणबाट गुज्रिरहेका छन् । यसले एकातिर नगरको प्रकृति र सौन्दर्यमा आघात पुगिरहेको छ भने अर्कोतर्फ हाम्रा सहरहरु दिनानुदिन असुरिक्षित र अस्वच्छ आवास क्षेत्रको रुपमा परिणत भइरहेका छन्,’ उनले भने, ‘काठमाडौंलगायत सबै नगरहरुलाई दीगो र वातावरणमैत्री विकासको अवधारणाबाट अघि बढ्नु पर्ने आवश्यकता छ । तसर्थ म सबै प्रतिनिधिहरुलाई वातावरणमैत्री सहरको अवधारणाअनुसार दीगो विकासको मोडेल अवलम्बन गर्न सुझाव दिन चाहन्छु ।’

प्रधानमन्त्री देउवाले सहरहरुलाई आर्थिक विकासको हबको रुपमा समेत विकास गर्न सहयोगी भूमिका निर्वाह गर्न नगरपालिका संघलाई आग्रह गरे ।

मुलुकभित्रका सबै नगरपालिकालाई सुनियोजित, सुव्यवस्थित तरिकाले मौलिक पहिचान र विशिष्ठतासहित आफ्नो नगरपालिकालाई नमुना नगरपालिकाको रुपमा विकास गर्न अघि बढ्न आग्रह पनि गरेका छन् ।