८ बैशाख २०८१, शनिबार

हिमपातबाट जोगिन मनाङमा पूर्वतयारी

Manag

हिमाली जिल्ला मनाङमा चिसो बढ्न थालेको छ । प्रायः बाह्रै महिना मनाङमा जाडो हुन्छ ।

विशेषगरी हरेक वर्ष मंसिर, पुस र माघ महिनामा यहाँ बढी जाडो हुन्छ । यस समयमा जिल्लाका विभिन्न ठाउँमा हिउँ पर्छ । मनाङमा अहिले बिहान र बेलुकाको समयमा अति जाडो हुन थालेको छ । यसैलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मनाङले हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि मनाङमा पूर्वतयारी सुरु गरेको छ ।

हिमपातले हुन सक्ने जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय मनाङले पूर्वतयारीको योजना बनाएको छ । हिमपातबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय तयारी अवस्थामा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए ।

‘हिमपातबाट प्रभावित हुन सक्ने जिल्लाका चार गाउँपालिकाको सम्भावित स्थान पहिचान गरेका छौँ,’ आचार्यले भने, ‘हिमपातबाट जिल्लामा विभिन्न समस्या आउन सक्छन् त्यस्तो अवस्थामा थप कार्यायोजना बनाएर अघि बढेका छौँ ।’