२३ बैशाख २०८१, आईतवार

प्रधानमन्त्रीको टुंगो गठबन्धनले सहमतिमै लगाउँछ : पुष्पकमल दाहाल

parchand
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले आह्वान गरेको ७ दिनको समय सीमाभित्रै गठबन्धनले प्रधानमन्त्रीमा दाबी पेश गर्ने बताएका छन् ।

आज (सोमबार) बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले गठबन्धनबाट सहमतिमै प्रधानमन्त्री टुंगो लगाएर प्रक्रिया अघि बढाइने बताए । अहिले नै को ? प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगो नलागेको भन्दै गठबन्धनको बैठक बसेर सहजै रुपमा प्रधानमन्त्रीको निर्णय गरिने उनले बताए ।

प्रधानमन्त्रीका लागि अवसर पाए आफू जिम्मेवारी लिन पनि तयार रहेको दाहालको भनाइ थियो । उनले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम आफूले कहिल्यै नगरेको भन्दै प्रधानमन्त्रीकै लागि अन्य पार्टीसँग मिल्ने काम नगर्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले नयाँ राष्ट्रपति गैरराजनीतिक व्यक्तिलाई बनाउने विषय गठबन्धनमा कुनै पनि छलफल नभएको बताए । उनले कतिपय बुद्धिजिवीले गैरराजनीतिक व्यक्तित्वलाई बनाउन सुझाव दिए पनि गठबन्धन वा राजनीतिक दलभित्र चर्चा नभएको भन्दै गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा सम्भव नभएकोसमेत स्पष्ट पारे ।

अध्यक्ष दाहालले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुखको विषय तत्काल टुंगो लगाउनुपर्ने विषय रहेको भन्दै यी विषयमा गठबन्धनभित्र प्याकेजमै सहमति हुने बताए । उनले नयाँ दलहरुसँग छलफल हुनुलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै गठबन्धन नटुट्ने स्पष्ट पारे ।