२१ बैशाख २०८१, शुक्रबार

मोरक्को विश्वकपको अन्तिम चारमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र, पोर्चुगल बाहिरियो

wc qfs

फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ । अल थुमामा रंगशालामा पोर्चुगललाई स्तब्ध पार्दै मोरक्कोले नयाँ इतिहास रचेको छ ।

मोरक्कोले पोर्चुगललाई १-० को जित दर्ता गरेसँगै विश्वकप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन टिम समेत बनेको हो।

अन्तिम १६ मा पूर्व विजेता स्पेनलाई पेनाल्टीसुटआउटमा पराजित गरेको मोरक्कोले जारी विश्वकपमा ठूला टिमहरुलाई माथ दिँदै आएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोलको अवसर सिर्जना गरे । बल पोसेसनमा पोचुगलले पकड जमाएपनि मोरक्कोले काउन्टर अट्याकमा पटक पटक समस्या दियो । पोस्टमा बढी आक्रमण गरेको मोरक्कोले युसुफ एन नेसरीको गोलमा सुरुवाती अग्रता पनि बनायो ।

दोस्रो हाफको सुरुवातमै मोरक्को अग्रता दोब्बर पार्ने संघारमा पुगेको थियो । तर त्यसलाई सदुपयोग गर्न नसकेपछि कप्तान क्रिस्टियानो रोनाल्डोलाई लगातार दोस्रो खेलमा बेन्चमा राख्दै पोर्चुगल मोरक्को विरुद्ध मैदान उत्रेको थियो । तर गोल खाएपछि प्रशिक्षक फर्नान्डो सान्तोसले रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाए । त्यसपछि लगातार आक्रमण बुनेको पोर्चुगल गोलरक्षक बोनोलाई बिट गर्न भने सफल भएन ।

खेलको ४२ औं मिनेटमा मोरक्कोले सुरुवाती अग्रता बनाएको थियो । मोरक्कोलाई ऐतिहासिक सफलता दिलाउन क्रममा युसुफ एन नेस्रीले निर्णायक गोल गरे । उनले याह्या अतिया अल्लाहको क्रसलाई हेडरमार्फत गोल गरेका थिए । गोलरक्षक डिओगो कोस्टा र डिफेन्डर रुवेन डियासभन्दा अघि उफ्रेर उनले बललाई पोस्टको दिशा दिएका थिए ।

लगत्तै अर्कोतर्फ पोर्चुगल बराबरी गोलनजिक पुगेको थियो । तर क्रसबार त्यसको अघि बाधक बन्यो । ब्रुनो फर्नान्डेसले दायाँ विंगबाट गरेको शक्तिशाली प्रहारमा गोलरक्षक यासिन बोनो बिट भएका थिए । तर उक्त प्रहार क्रसबारमा लाग्दै फर्किएको थियो ।

५१औं मिनेटमा रुबेन नेभेसको स्थानमा मैदान प्रवेश गर्दै ३७ वर्षीय रोनाल्डोले भने व्यक्तिगत उपलब्धी हासिल गरे । उनले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १९६ खेल खेल्ने पुरुष खेलाडीको कीर्तिमान बराबरी गरे ।

कुवेतका बाडेर अल मुटावाको नाममा रहेको सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान रोनाल्डोले बराबरी गरेका हुन् । रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक ११८ गोल गरेका छन् ।

८३ औं मिनेटमा गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गर्दै खेलमा मोरक्कोको अग्रता कायम राखे । रोनाल्डोको पासमा जोआओ फेलिक्सले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई बोनोले बचाए । उनले आफ्नो दायाँतर्फ डाइभ दिँदै बललाई बाहिर पठाएका थिए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा बोनोले रोनाल्डोको प्रहारमा गरेको पहिलो बचाउ फुस्काएपनि दोस्रो प्रयासमा रिबाउन्डलाई सुरक्षित राखे । इन्ज्युरी समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेंलो कार्डपछिको रातो कार्ड खाँदै बाहिरीए । उनले एक मिनेटको अन्तरमा दोस्रो फल गरेपछि रेफ्रीले दोस्रो पहेंलो कार्ड देखाएका थिए ।

जारी विश्वकपमा नाम चलेका खेलाडीहरु बाहिरिने क्रम जारी हुँदा अहिलेका पुस्ताका उत्कृष्ट मध्येका एक रोनाल्डोको विश्वकप यात्रा पनि क्वाटरफाइनलमा सकिएको छ ।

सम्भवत अन्तिम विश्वकप खेलेका रोनाल्डोले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् ।

मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनल पुग्ने क्रममा अपराजित छ भने यस पटक डार्क हर्स बनेर उदाएको छ । समूह चरणमा साविक उपविजेता क्रोएसियासँग बराबरी खेल्दै विश्वकप सुरु गरेको मोरक्कोले बेल्जियम र क्यानडालाई पराजित गरेको थियो ।

मोरक्कोले अब साविक विजेता फ्रान्स र अर्का पूर्व विजेता इंग्ल्याण्डबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।