२३ बैशाख २०८१, आईतवार

एमालेले गर्‍यो १४ जना नेतामाथि कारबाही, यस्ता छन् कारबाहीमा पर्ने नेताहरु

uml 1 1

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै नेकपा एमालेले घनश्याम भुसाल, प्रभु साहसहितका नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैठकले केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने गरी कारबाही गरिएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो ।

एमालेले चुनावमा पार्टी विरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रिय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि पार्टीको जिम्मेवारीबाट हटाएको छ ।

चुनावमा पार्टी विरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचिबाट हटाइएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो । एमालेले निर्वाचन विरोधी गतिविधिमा लागेका अन्य तहका नेताहरुलाई पनि कारबाही गर्ने तयारी गरिरहेको बताइएको छ ।