२२ बैशाख २०८१, शनिबार

स्पेनलाई पराजित गर्दै मोरक्को क्वाटरफाइलनमा

spain vs morocco

स्पेनलाई पराजित गर्दै मोरक्को कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । उपाधिको बलियो दावेदार स्पेनलाई टाइब्रेकरमा स्तब्ध पार्दै मोरक्कोले पेनाल्टी सुटआउटमा स्पेनमाथि ३–० को जित हासिल गर्याे । 

एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले गोलरहित बराबरी खेल्दा खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

मोरक्को विश्वकपको इतिहासमा पहिलोपटक क्वाटरफाइनलमा पुग्न सफल भएको हो । गोलकिपर यासिन बोनो नायक बन्दै दुई पेनाल्टी बचाएपछि मोरक्कोले अन्तिम आठमा स्थान पक्का गरेको हो । यता स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि टाइब्रेकरमा मोरक्कोका अब्देलहामिद साविरी, हाकिम जियाच र अकरफ हाकिमीले गोल गरे । 

मोरक्को विश्वकप इतिहासमा क्वाटरफाइनलमा पुग्ने चौथो अफ्रिकी टिमसमेत बनेको छ । यसअघि क्यामरुन, सेनेगल र घानाले फरक समयमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए ।

त्यसअघि पनि दुवै टिमले गोलका केही राम्रा अवसर पाएका थिए । १२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्को एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।

५५औं मिनेटमा मार्को एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।

८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन ।इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ड्यानियल ओल्मोको क्रसलाई गोलरक्षक बोनोउले अर्को सुन्दर बचाउँ गरे ।

स्पेनका कुनै पनि खेलाडीले टाइब्रेकरमा गोल गर्न सकेनन् । बाडर बनाउनेको प्रहार भने स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए । पाब्लो साराबियाको प्रहार भने पोलमा लागेर बाहिरियो । त्यसपछि कार्लोस सोलेर र सर्जियो बुस्केट्सको पेनाल्टीलाई यासिन बोनोले बचाउँदै टोलीलाई अन्तिम आठको यात्रा तय गराए ।

मोरक्कोले आजै मध्यराति हुने पोर्चुगल र स्वीट्जरल्याण्डबीच खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।