२१ बैशाख २०८१, शुक्रबार

समूह चरणको पहिलो खेलमा जर्मनी जापानसँग पराजित

japan

उपाधि दावेदारको रुपमा दरिएको जर्मनी फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा जापानसँग पराजित भएको छ । बुधबार पहिलो हाफमा अग्रता लिएपनि दोस्रो हाफमा एसियाली राष्ट्र जापानले सानदार पुनरागमन गर्दै २-१ को अप्रत्याशित जित निकालेको हो ।

पहिलो हाफमा दुई तिहाइ भन्दा बढी बल पोसेसन राखेको जर्मनीले अग्रता लिन भने पेनाल्टीमा भर परेको थियो । इल्काए गुन्डोगनको पेनाल्टीमा अग्रता लिएको जर्मनीविरुद्ध अन्य अवसरमा भने जापानी गोलरक्षक बाधक बने । जापानले काउन्टर अट्याकमा जर्मन डिफेन्सलाई केहि समस्या दिएपनि गोलरक्षक नोएरले भने कुनै प्रहार सामना गर्नुपरेको थिएन ।

३० औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पायो । डेविड रमले गोलरक्षक गोन्डाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । गुन्डोगनले पेनाल्टीमा गोलरक्षकलाई विपरित दिशामा पठाउँदै अग्रता दिलाए ।

ge ja

दोस्रो हाफमा खेलाडी परिवर्तन गरेपछि भने जापान खेलमा फर्केको थियो । दोस्रो हाफको सुरुवाती मिनेटमा दुवै टोलीले गोलको अवसर पाएका थिए । जापानका इटोको प्रहार जर्मन डिफेन्सले रोक्दा अर्कोतर्फ मुसियालाको पेनाल्टी क्षेत्रभित्र ५ डिफेन्सलाई बिट गरेपछिको प्रहार आकासियो । ६० औं मिनेटमा जर्मनीको अग्रता दोब्बर पार्ने प्रयासमा पोस्ट बाधक बन्यो । मुसियालाको पासमा गुन्डोगनको प्रहार पोस्टमा लाग्दै बाहिरियो ।

वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका रित्सु डोआन र ताकुमी मिनामिनोबीच समन्वयमा जापानको गोल सम्भव भएको थियो । मिनामिनोको सुरुवाती प्रहार नोएरले बचाएपनि रिबाउन्डमा डोआनले कुनै गल्ती गरेनन् । उनले ६ यार्ड बक्सनजिकबाट गोल गरेका थिए ।

८४ औं मिनेटमा जापानले ताकुमी असानोको गोलमा अग्रता लियो । कोउ इताकुराले डिफेन्स लाइनबाट खेलेको लामो पासमा जर्मनीको अफसाइड ट्रयाप बिट गर्दै असानोले गोल गरेका थिए । उनले स्लोटरबेकको दबाब र नोएर अघि आएको अवस्थामा निअर पोस्टमा फिनिस गरेका थिए ।

यस नतिजासँगै समूह ई मा जापानले ३ अंक जोडेको छ । समूहको अर्को खेलमा आज स्पेन र कोस्टारिका भिड्दैछन् ।