१५ बैशाख २०८१, शनिबार

संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

corngress baithak

नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले सरकारले प्रस्ताव गरेको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सरकारले ल्याएको नेपालको पूर्ण नक्शालाई संविधानमा समेट्ने गरी गर्न खोजिएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

आज अबेर राति सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा मधेशी मूलका नेताहरूले संविधान संशोधनमा यसबाहेक अन्य विषय समेत समेट्न माग गरेका थिए। मधेसी दलहरूले उठाइरहेको संविधान संशोधनको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क राखेका थिए।

संविधान संशोधनको मुद्धामा विगतमा कांग्रेस समेत सहमत भएकाले मुद्धा छोड्न नहुने तर्क राखिएको थियो। मधेशबाट प्रतिनिधित्व गर्ने प्रदीप गिरिले संविधान संशोधन नक्सामा मात्रै हुन नहुने बताएका थिए। गिरिले मधेशवादी दलको साथमा उनीहरूले उठाएका संशोधनको प्रस्ताव पनि सँगै संशोधन हुनुपर्ने बताएका थिए।

युवा पुस्ताका गगन थापा र प्रदीप पौडेलले सर्वसहमतिले संविधान संशोधनको प्रस्ताव निर्णय गर्न सुझाएका थिए। निर्णय गर्न विलम्ब गर्न नहुने उनीहरूको मत थियो।

केही नेताले पदाधिकारी बैठकले निर्णय नगरी किन केन्द्रीय समितिको बैठकमा छलफल गराउन परेको भन्दै नेतृत्वलाई प्रश्न पनि तेर्साएका थिए।

सभापति शेरबहादुर देउवा पक्षीय नेताहरूले केन्द्रीय समितिको बैठकबाट निर्णय गराउनु उपयुक्त हुने बताएका थिए। 

बैठकपछि कांग्रेस केन्द्रिय सदस्य गगन थापाले भने, बैठक सकियो। परिवर्तित नक्सालाई संविधानको अंग बनाउने प्रस्तावको पक्षमा मतदान गर्न संसदिय दललाई निर्देशन दिने निर्णय भयो।

सरकारले भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो। सोही नक्सावमोजिमको भूभाग समेटिने गरी संविधानको अनुसूची बदल्न यससम्बन्धी संशोधन प्रस्ताव संसदमा दर्ता भइसकेको छ।

संविधान संशोधनको प्रस्तावको कार्यसूची कांग्रेसका कारण हटेको आरोप लागेपछि कांग्रेसलाई निर्णय गराउन दबाब समेत परेको थियो।

भोलि, १८ जेठमा संशोधन प्रस्ताव संसद बैठकमा प्रस्तुत हुने कार्यसूची छ।