१५ बैशाख २०८१, शनिबार

अभिनेत्री मनिषा कोइराला राप्रपाको चुनावी अभियानमा सहभागी हुने

Manisha Koirala
फाइल फोटो

अभिनेत्री मनिषा कोइरालाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पक्षमा उभिने बताएकी छन् । 

‘युवा, गतिशील र दूरदर्शी नेता राजेन्द्र लिङ्देन पाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा चुनावी अभियानमा सहभागी हुन आफ्नो व्यस्त तालिकाबाट केही समय निकालेर घर फर्कदै छु,’ मनिषाले आज सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन् । 

राष्ट्रवाद, देशको ऐतिहासिक र सांस्कृतिक विरासत बारे उनको बुझाइले उनी देशका अन्य समकालीन राजनीतिज्ञहरू भन्दा माथि रहेको दाबी पनि उनले गरेकी छन् । 

‘म राजनीतिमा र मेरो राष्ट्रिय कर्तव्यप्रति बीपीबाट प्रेरित छु । देशलाई संरक्षकको रूपमा राजतन्त्र र लोकतान्त्रिक ढाँचामा जनताको सामाजिक आर्थिक उत्थानको ख्याल गर्ने जीवन्त राष्ट्रवादी पार्टीहरू चाहिन्छ,’ मनिषाले भनेकी छन् । 

प्रगतिशील राजनीतिको नाममा साम्प्रदायिक असमानता र परम्परागत तथा राष्ट्रवादी शक्तिहरूको बहिष्कारले देशको सामाजिक र राजनीतिक संरचनामा ठूलो क्षति पु¥याएको उनले बताएकी छन् ।