२० बैशाख २०८१, बिहीबार

संघीय मन्त्री बनिसकेका नेताको मुख्यमन्त्री मोह

khagraj

राजनीतिमा लागेकाहरूमा जनप्रतिनिधि बन्दै देशको बागडोर सम्हाल्ने आकांक्षा हुनु स्वाभाविक हो । सबैको चाहना माथिल्लो तहमा नै पुग्ने हुन्छ । तर पछिल्लो समय यसअघि नै संघीय सांसदका लागि उम्मेदवार बनेका, संसदमा पुगेका र मन्त्री बनिसकेकाहरू समेत अहिले प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । कतिले मुख्यमन्त्री ताकेका छन् त कतिले सत्तामा पुग्ने पुग्ने सजिलो भर्‍याङ ठानेका छन् ।

२०४८ सालको निर्वाचन यता संघीय संसदका लागि ५ पटक उम्मेदवार बनेका नेकपा एमालेका नेता खगराज अधिकारी २०५१ सालको मध्यावधि निर्वाचन र २०७४ को आमनिर्वाचनमा निर्वाचित मात्र भएनन् उनी स्वास्थ्य र गृहमन्त्रीसमेत बने । तर अहिले उनी कास्की क्षेत्र नं. १ प्रदेश-१) को उम्मेदवार बनेका छन् । प्रदेशसभालाई प्रभावकारी बनाउन उम्मेदवारी दिएको बताउने उनको चाहना भने मुख्यमन्त्री बन्ने देखिन्छ ।

अधिकारी मात्र होइन, रुपन्देही क्षेत्र नं १ -१) बाट उम्मेदवार बनेका काँग्रेसका अब्दुल रजाक २०६४,७० र ७४ सालमा प्रतिनिधिसभा निर्वाचनकालागि उम्मेदवार थिए । २०७० को निर्वाचनमा विजयी भएर खानेपानी तथा सरसफाइ राज्यमन्त्री बनेका उनी अहिले प्रदेशसभामा फर्किएका छन् ।

२०७० सालको संविधान सभा सदस्य निर्वाचनमा माओवादी केन्द्रबाट तत्कालीन सप्तरी-३ बाट विजयी भएका उमेश यादव सिाचाईमन्त्री भए । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भए पछि अहिले उनी प्रदेश सभा सदस्यमा सप्तरी २ को २ बाट चुनावी मैदानमा छन् । संघीय सांसद र मन्त्री भइसकेकाहरू प्रदेश सभामा उम्मेदवार बन्नेहरूको ध्यान प्रदेशको मुख्यमन्त्रीमै छ ।

२०७० सालको संविधानसभा सदस्य निर्वाचित जाजरकोटका काँग्रेसका नेता राजीवविक्रम शाह,नुवाकोटका बहादुरसिं लामा, दाङका राजु खनाल, कञ्चनपुरका दिवानसिंह विष्ट,मोरङका अमृत अर्याल,एमाले लमजुङका नेता जमिन्द्रमान घले,झापाका रविन कोइराला र नवलपरासीका देवकरन कलवार सन्तु पनि यो निर्वाचनमा प्रदेससभासदस्यको उम्मेदवार छन् । ०७४ मा तनहुँमा निर्वाचित एमालेका केदार सिग्देल, २०४८ र ५१मा धनकुटामा निर्वाचित समाजवादीका नेता रकम चेम्जोङ पनि अहिले प्रदेशसभाको उम्मेदवार छन् ।

२०७० सालमा समानुपातिकबाट संविधान सभा सदस्य भएका कञ्चनपुरका एमाले नेता कृपाराम राना र २०६४ को संविधान सभा सदस्य माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्ट पनि प्रदेश सभा सदस्य उम्मेदवार छन् ।

त्यसो त पटक-पटक संघीय सांसदका लागि प्रयास गरेर असफल भएका रौतहटका जितेन्द्र यादव, तेह्रथुमका माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईँ, बागलुङका हिराबहादुर केसी पनि प्रदेश सभा सदस्यमा निर्वाचित हुने कसरतमा छन् ।

कतै गठबन्धनको बाध्यता र कतै आफ्नै पार्टीभित्रका आकांक्षीसाग प्रतिस्पर्धामा पछि पर्दा नेताहरू प्रदेशमै बसेर भए पनि राजनीतिमा सक्रिय हुने र कुनै न कुनै लाभको पदमा पुग्ने आकांक्षा राखेको देखिन्छ ।