२२ बैशाख २०८१, शनिबार

पैसा भन्नासाथ ‘त्रिनेत्रु’ खुल्ने प्रवृत्ति: खर्च गर्न सक्ने उम्मेदवारहरुलाई मालामाल निर्वाचन

election

निर्वाचनहरु जसको शक्ति उसकै भक्ति हुने माध्यम बनेका छन् । पैसा र शक्ति देखाउन सक्ने र खर्च गर्न सक्नेका लागि सहज बनिरहँदा विचार र व्यवहार राम्रो हुने तर पैसा खर्च गर्न नसक्ने उम्मेदवारहरुलाई निर्वाचन कठिन देखिएको छ ।

यस्तो अवस्थामा आम प्रवृत्ति र निर्वाचन प्रणाली सुधार गर्नुपर्ने खाँचो देखिन्छ । कांग्रेस सभापति समेत रहेका देउवाको चुनावी प्रचारमा हेलिकोप्टरमा डडेल्धुरा पुगेकी देउवा पत्नी आरजु राणा देउवालाई लाग्छ, मत माग्न आउनेको हैसियत ठूलै हुनुपर्छ । हेलिकोप्टरमा आउन सक्ने हैसियतको मान्छेले मात्र काम गर्न सक्छ । जसले चुनावमा खर्च गर्न सक्दैन त्यसले जितेर पनि केही गर्न सक्दैन ।

आरजुले नै केही समयअघि पनि डडेल्धुरामा पुगेर आफ्नो पार्टी निर्वाचित भए फ्रि भिषा र फ्रि टिकटमा विदेश जान पाउने आश्वासन दिनु भएको थियो ।

देउवाविरुद्ध निर्वाचन लड्न भन्दै गुल्मीबाट डडेल्धुरा पुगेका ३१ वर्षीय सागर ढकाल रैथाने दलहरुको यस्तो बोली व्यवहारले आजित हुनुहुन्छ । निर्वाचन जित्न जेजस्ता अभिव्यक्ति दिइएका छन्, जे जस्ता प्रलोभनको अस्त्र चलाइएको छ, यसले आर्थिक रुपमा कमजोर उम्मेदवारहरुलाई चुनौती थपिदिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकै दिन सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका चुनावी आमसभा भ्याउनुभयो । धनगढीबाट सररर हेलिकोप्टरमा दार्चुला, त्यहाँबाट डोटी हुँदै साँझ कञ्चनपुरको कार्यक्रम गरेर ओली काठमाडौं आइपुग्नुभयो । उहाँले एकै दिनमा सम्बोधन गरेका सबै सभास्थलमा एउटा सामान्य उम्मेदवार पुग्न हप्तौँ लाग्न सक्छ ।

चुनाव प्रचारप्रसारका लागि गोरखामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि हेलिकोप्टर प्रयोगको अनुमति निर्वाचन आयोगबाट पाइसक्नु भएको छ, उहाँ पनि अब भोट माग्न हेलिकोप्टरमै सयर गर्ने बाटो खुलिसकेको छ ।

केही समयअघि नेपाली कांग्रेसका तत्कालीन महामन्त्री सशांक कोइरालाले आफूले पछिल्लो निर्वाचन लड्न ६ करोड रुपैयाँ खर्च गरेको बताउनु भएको थियो । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका दिपक मनाङेले केही दिनअघि मात्रै एक दिनमै १५ लाखको रक्सी खुवाउनुपर्ने अवस्था रहेको अभिव्यक्ति दिनुभएको थियो ।

यसपटकको निर्वाचनमा रैथाने दलका रैथाने उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारीको लहर नै चलेको छ । तर अधिकांश स्वतन्त्र उम्मेदवार पैदलै हिँडिरहेका पाइन्छन् । मोटरबाइक पनि चढ्न कठिन हुने कतिपय उम्मेदवार समृद्धिका मिठा नारा र कार्यान्वयनको आधार पनि सुनाइरहेका छन् । तर आम मतदातालाई धुलो उडाउँदै सुरक्षा घेरामा ल्याण्ड हुने हेलिकोप्टर र गाडीहरुको लावालस्करले धेरै प्रभावित पार्ने गरेको छ ।

पैसा र पहुँचमा हुनेहरुले निर्वाचनको बेला मतदाता प्रभावित पार्न ठूलो रकम खर्चिने गरेका छन् । पैसा जसले धेरै खर्च गर्न सक्यो, मतदातादेखि उम्मेदवार र दललाईसमेत पैसाले प्रभावित पार्न सक्यो उसले जित्ने सम्भावना बढी हुने गरेको छ ।

तर विचार र व्यवहारमा जति नै अब्बल भए पनि आर्थिक स्रोतका हिसाबले निम्छरो देखिने उम्मेदवारहरुलाई निर्वाचन ुभालुको कम्पारोु बन्ने गरेको छ । विद्यमान अस्तव्यस्तता हटाउनलाई संसदमै पुग्नुपर्ने बास्तविकता, परिवर्तन ल्याउने हुटहुटी तर पैसा र पावरको प्रभावले जकडिएको मत फुत्काउने कठिन छ।

निर्वाचन खर्चिलो भएका विषयमा धेरै नै बहस हुने गर्छ । कतिपय स्थापित दलकै नेताहरु पनि यो विषयमा बोल्ने गरेका छन्, तर यस्तो विषयमा आम रुपमा सुधार हुन सकिरहेको छैन । पैसा भन्नासाथ ‘त्रिनेत्रु’खुल्ने प्रवृत्तिको अन्त्यका लागि सचेतना त छँदैछ तर प्रणाली सुधारका कुरामा पनि अब केही न केही काम गर्नै पर्ने देखिन्छ ।