१३ बैशाख २०८१, बिहीबार

विदेश गएका नेपालीको रेमिट्य्यान्सले देश चल्ने, मत किन नचल्ने ?

student foren
फाइल फोटो

कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा धेरै रेमिट्यान्स भित्र्याउने मुलुकमध्ये नेपाल विश्वकै चौथो स्थानमा छ। रेमिट्यान्सबाट चलेको मुलुकको भविष्य निर्धारणका लागि हुने निर्वाचनमा भने रेमिट्यान्स नै पठाउने लाखौं युवा बञ्चित हुँदैछन् ।

सरकार र निर्वाचन आयोगको अनिच्छा तथा कानुनी प्रवन्धको अभावका कारण रोजगारी र अन्य प्रयोजनका लागि विदेशमा रहेका लाखौं नेपाली संवैधानिक अधिकारबाट बञ्चित हुँदा निराश छन् ।

सर्वोच्च अदालतले २०७४ चैत ७ गते विदेशमा रहेका नेपालीलाई समेत मतदानको व्यवस्था मिलाउन आदेश दिएको थियो । सर्वोच्च अदालतको यो आदेशको ५ वर्षपछि हुन लागेको यो निर्वाचनमा समेत प्रवासमा बस्ने नेपालीले मतदान गर्ने अवसर पाउने छैनन् ।

प्रवासमा बस्ने नेपालीले कमाएको नोट चल्ने, तर भोट नचल्ने अवस्था हुदाँ ४० लाख भन्दा बढी मतदाता अधिकार प्रयोगबाट बञ्चित भएका मात्र छैनन्, देशविकास र रोजगारी सृजनाको कानुनी प्रवन्ध गर्ने थलोमा उनीहरुको विवेकको मूल्य पनि नहुने भएको छ ।

सार्वोच्चको आदेशपछि विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्थाका लागि गृहकार्य समेत गरिएको थियो । निर्वाचन आयोगले विभिन्न समयमा अध्ययन गरेर बनाएका प्रतिवेदन अहिले के भइहरको छ कसैलाई पत्तै छैन ।

भारतमा करिब २० लाख र तेस्रो मुलुकमा ४० लाख हाराहारी नेपाली रहेको तथ्याङ निर्वाचन आयोगकै प्रतिवेदनमा उल्लेख छ । २०७८ को जनगणनाको तथ्यांक अनुसार मतदान गर्नयोग्य २१ लाख ६९ हजार नागरिक मुलुकबाहिर छन् । तर विदेशमा रहेका त्यति धेरै मतदाता चुनावी प्रक्रियामा सहभागी गराउने अदालतको आदेशसमेतलाई निर्वाचन आयोगले पालना गर्न सकेन ।

निर्वाचन आयोगको पछिल्लो तथ्याङ अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन्। कुल मतदातामध्ये २५ प्रतिशत देश बाहिर रहेको अवस्थामा उनीहरुलाई मतदानबाट बञ्चित गर्दा लोकतन्त्रको अभ्यास समेत कमजोर बन्ने छ ।

अधिकांश नेपाली बाध्यताले बिदेशी भूमिमा पुगेका छन्। शिक्षा, रोजगारी, व्यवसाय, कूटनीतिक सेवालगायत विश्व श्रम बजारमा ठूलो संख्यामा नेपाली छन् । निर्वाचनमा युवा जनशक्तिको निर्णायक मतलाई मतदानको दायरामा ल्याउन राजनीतिक दलहरुले समेत चासो दिएका छैनन् । देशको आर्थिक, सामाजिक विकासमा रेमिट्यान्स मार्फत् प्रवासी नेपालीको कुल जीडीपीमा ३० प्रतिशत हाराहारी योगदान छ ।