१५ चैत्र २०८०, बिहीबार

सरकारी छाप र हस्ताक्षर कीर्ते अभियोगमा फरार नेकपा समानुपातिक सांसद सदनको कारवाहीमा सहभागी

gulefun miyan khatun

समानुपातिकतर्फ मोरङबाट निर्वाचित नेकपाकी सांसद गुलेफुन मियाँ खातुन लाई सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा अदालबाट एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजाय तोकिएको छ ।

उनी सचिवालयमा सुटुक्क प्रवेश गरेर हाजिरी पुस्तिकामा हाजिर पनि गरिन् । उच्च अदालत विराटनगरले सांसद मियालाई दोषी ठहर गरेको भएपनी प्रदेशसभा भवनमा खटिएका सुरक्षाकर्मीले नचिने जस्तो गरे । खातुनले पक्राउ पर्न सक्ने छनक पाएपछि भने सुटुक्क प्रदेशसभा सचिवालयबाट निस्किएर भागिन् ।

प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले अदालतको फैसलाको प्रति सदनलाई प्राप्त नभएकोले मियालाई निलम्बन नगरिएको बताउँदै आएका छन् ।

कीर्ते मुद्दामा सांसद मिया, उनका श्रीमान शेख शिलबर मिया, तत्कालीन गाविसका कर्मचारी विजय कामत र दीपचन्द मण्डललाई २०७४ वैशाख ३१ गते जिल्ला अदालत मोरङले एक वर्ष कैद र ५० रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । कीर्ते मुद्दामा दोषी ठहर भएका गाविसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका काराण थप दुई वर्ष सजाय भयो ।

गुलेफुन भने फैसलाविरुद्ध उच्च अदालत पुगिन । उच्चले शेख सिलबरलाई सफाइ दियो । बाँकी तीनजनाको हकमा भने सजाय हुने जिल्लाको आदेश सदर गर्दै जनही १४ हजार ५ सय ८३ जरिवाना फैसला गरिदियो । सांसद मियाले ११ महिना ५ दिन कैद बस्नु पर्नेछ तर उनी अदालतसमक्ष आत्मसर्मपण गर्नुको साटो बुधबार उल्टै संसदमै उपस्थित भईन ।