२० बैशाख २०८१, बिहीबार

खै नैतिकता ? जस्तोसुकै हत्कण्डा चुनाव जित्न र सत्तामा पुग्न !

jasapa 4 mantri pad dharap

नेपाली राजनीतिमा नैतिकताको विषय दन्त्य कथाजस्तै भएको छ। चुनाव जित्न र सत्तामा पुग्न दल र तिनका नेताले जस्तोसुकै हत्कण्डा अपनाउने गरेका छन् ।

चुनावको मुखमा दल बदल त छँदै थियो, सरकारमा एउटा गठबन्धनमा रहने र चुनावमा अर्कै गठबन्धनसँग तालमेल गर्ने प्रवृत्ति देखिएको छ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सहसराम यादवले आइतबार कपिलवस्तु १ ख बाट उम्मेदवारी दर्ता गराए । जनता समाजवादी पार्टीबाट मन्त्री बनेका यादवले पार्टीबाट राजीनामा नदिई कांग्रेसबाट उम्मेदवारी दिएका हुन् ।

संघीय सरकारमै जसपाका चार मन्त्री छन् । जसपाबाट मन्त्री रहेका चारमध्ये तीन जना प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वनमन्त्री प्रदीप यादव एमालेसँग तालमेल गरेर सत्ता गठबन्धनकै उम्मेदवारविरुद्ध मैदानमा छन् ।

एउटै पार्टीका नेताहरू एकातिर गठबन्धन सरकारमा बसेर सरकारी सुविधा उपभोग गरिरहेका छन् भने अर्कोतर्फ भने त्यही सत्ता गठबन्धनविरुद्ध एमालेसँग तालमेल गरेर उम्मेदवार बनेका छन् ।

एउटा गठबन्धनबाट सरकारमा बस्ने र अर्कोतर्फ विपक्षी गठबन्धनबाट चुनावमा सहभागी भएर दोहोरो चरित्र देखाएको कांग्रेसको टिप्पणी छ।

२०७४ को निर्वाचनमा सरकारमै रहेको नेकपा माओवादी केन्द्रले पनि विपक्षमा रहेको एमालेसँग तालमेल गरेको थियो । माओवादीले सरकार नछाडेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसेका थिए ।

यसपटक जसपाले त्यस्तै गरेको छ । तर जसपाका नेताहरु भने एमालेस‌ँग चुनावी लेनदेन भएका कारण गठबन्धन सरकारमा बसिरहेको बताउँछन् ।

सरकारमै रहेको नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले समेत गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका छन् । नेपालमा चुनाव जित्नकै लागि सरकार र मैदानमा फरक फरक गठबन्धन गर्ने प्रवृत्ति मौलाउँदै गएको छ।