२४ बैशाख २०८१, सोमबार

नेता तथा कार्यकर्तालाई चुनावमा धाँधली भए प्रतिवादमा उत्रिन अध्यक्ष ओलीको निर्देशन

kp oli pokhara
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने शंका गर्नुभयो ।

सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग निकाल्दै ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताउनु भयो ।

अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताउनु भयो । उहाँले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिनुभयो ।

अध्यक्ष ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाउनु भयो ।

अध्यक्ष ओलीले सरकारमा रहेका दल त्यागेर अहिले नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउनु भयो ।