२२ बैशाख २०८१, शनिबार

दर्ता भयो आयोगमा एमाले, गठबन्धनबाट चुनाव नलड्ने घोषणा

uml

प्रतिनिधिसभा र प्रदेशसभाको आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता हुने दशौं दल भएको छ । आयोगमा सबैभन्दा पहिले सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको थियो ।

त्यसपछि क्रमशः मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भइसकेका छन् ।

महासचिव पोखरेलले एक पटक दर्ता भइसकेको दल पटक-पटक हरेक निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दर्ता गराउने कुरा आवश्यक नभएको प्रतिक्रियासमेत दिए ।

उनले भने, ‘वास्तवमा लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य र आवश्यक विषय हो । हाम्रो संविधानले प्रत्येक निर्वाचनको समयमा दलहरू दर्ता गर्ने व्यवस्था गरेको छ । यो व्यवस्थाचाहिँ सुधार गर्नुपर्छ भन्ने लाग्छ मलाई । किनकि दलहरु एक पटक दर्ता भइसकेपछि पटक-पटक दर्ता गरिरहने कुरा आवश्यक विषय होइन । तर पनि हाम्रो संविधान, कानुनले जे व्यवस्था गरेको छ । त्यस अन्तरगत हामीले दल दर्ता गरेका छौं । र, हामी निर्वाचनको तयारीमा विधिवत रुपमा प्रवेश गरेका छौं ।’

निर्वाचन आयोगले आगामी मंसिर ४ गते आइतबारका दिने हुने सो निर्वाचन प्रयोजनका लागि यही साउज ३१ गतेसम्म कार्यालय अवधिभित्र सबै राजनीतिक दलहरुलाई दल दर्ताका लागि आह्वान गरेको थियो ।

ठूला पार्टीमा एमाले पहिलो भएको छ । दल दर्तापछि प्रतिक्रिया दिँदै उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टी एक्लै चुनावमा जाने बताए । सोहीअन्तर्गत एमाले महासचिव पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली, विष्णु रिमालसहितका नेताहरुले निर्वाचन आयोग पुगेर दल दर्ता गराएका हुन् ।