१३ बैशाख २०८१, बिहीबार

विवादस्पद छवी बनाएका भारतीय क्रिकेटरलाई किन क्यानले प्रशिक्षक नियुक्त गर्यो ?

manaoj prabhakar 1

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा भारतीय स्टार अलराउण्डर मनोज प्रभाकरलाई नियुक्त गरेको छ । पुबुदु दासानायकेले राजीनामा दिएपछि मुख्य प्रशिक्षकविहीन बनेको नेपाली टोलीले अर्को महिना केन्या भ्रमण गर्दैछ ।

यसका लागि क्यानले यसअघि सर्ट लिस्टमा परेका मध्येबाट हतारहतार प्रभाकरलाई टोलीको जिम्मेवारी दियो । तर सफल खेलाडीसँगै विवादास्पद छवी बनाएका उनीसामू नेपालको एक दिवसीय मान्यता टिकाइ राख्ने मुख्य चुनौती छ ।

९० को दशक भारत मात्र नभई क्रिकेट जगतमै प्रभावशाली अलराउण्डरको रुपमा चिनिएका मनोज प्रभाकरलाई क्यानले राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

पुबुदु दासानायकेले राजीनामा दिएपछि रिक्त रहेको प्रशिक्षकको पदमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो । तर, म्याच फिक्सिङमा संलग्न भएका कारण कारवाही भोगिसकेका प्रभाकरलाई नियुक्त गर्दा क्यानविरुद्ध टिकाटिप्पणी हुन थालेको छ ।

विवादास्पद भए पनि प्रभाकर प्रशिक्षकका रुपमा सफल मानिन्छन् । उनले दिल्लीलाई भारतको प्रतिष्ठित रणजी ट्रफी जिताएका छन् भने अफगानिस्तानका लागि पनि बलिङ प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् ।

अर्को महिना नेपालले पाँच खेलको ट्वेन्टी–ट्वेन्टी र तीन एकदिवसीय सिरिज खेल्दैछ । यसबाहेक उनीसामू नेपालको एक दिवसीय मान्यता टिकाइ राख्ने मुख्य चुनौती हुनेछ । लिग टु मा १६ खेल बाँकी रहँदा कम्तीमा १० खेल जित्नुपर्ने हुन्छ ।

३९ टेस्ट र १ सय ३० एक दिवसीय खेलिसकेका प्रभाकरले भारतीय टिमका लागि १९८७, ९२ र ९६ को एक दिवसीय विश्वकप खेले ।

एक समयका सफल अलराउण्डर र सफल प्रशिक्षक प्रभाकरलाई अब नेपालको खस्किँदो ब्याटिङलाई सुधार गर्नु, खेलाडीबीचको एकता कायम राख्नु र सीमित श्रोत साधनकाबीच अनुकुल नतिजा निकाल्नु मुख्य चुनौती हुनेछ ।