१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक शक्ति संघर्ष चुलिँदै जाँदा बाबुराम भट्टराईको राजनीतिक मार्ग कता ?

Dr Baburam Bhattarai
फाइल फोटो

आन्तरिक शक्ति संघर्ष चुलिँदै जाँदा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई जनता समाजवादी पार्टीले कारवाही गरेर निकालेको छ ।

तत्कालीन नेकपा माओवादीले थालेको शसस्त्र जनयुद्धका एक रणनीतिकार नेता भट्टराई शान्तिप्रकृयाको माध्यमबाट खुला राजनीतिमा आएपछि प्रधानमन्त्री समेत भए । तर उनको राजनीतिक यात्रा भने सधैँ अस्थीर जस्तै बन्यो ।

आफैंले बनाएको माओवादी छाडेर हिँडेदेखि अहिले जसपाको कारवाही भोग्दासम्म राजनीतिमा नयाँ नयाँ स‌ंगठन बनाउने उनको हुटहुटी छुटेको छैन ।

२०५२ सालमा नेकपा माओवादीले जनयुद्द शुरु गर्नुअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदे माग बुझाए लगत्तै भूमिगत भएका बाबुराम भट्टराई सधै चर्चामा रहिरहे ।

प्रधानमन्त्रीसम्म भइसकेका भट्टराईले दलविहीन हुनुपर्ला भन्ने कल्पनासम्म गरेका थिएनन् । हुन त उनले आफूले बनाएको पार्टी नै पटकपटक त्याग र विलय नगराएका होइनन् । अहिले उनलाई आफ्नै पार्टी जसपाले निष्कासन गरेपछि दलविहीन भएका छन् । तर यसमा उनले पटक्कै हिम्मत हारेका छैनन् ।

तत्कालीन माओवादी शान्तिप्रक्रियामा आएपछि भट्टराई पहिलो संविधानसभा निर्वाचनमा गोरखाबाट सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।

२०६४ सालमा अर्थमन्त्री बन्दा उनले अर्थतन्त्रका सूचक निकै राम्रो बनाएका थिए। त्यसैको बलमा २०६८ सालमा प्रधानमन्त्री बनेका थिए । उनको कार्यकालमा काठमाडौंको सडक विस्तार भएको थियो । दोस्रो संविधानसभा गठनपछि संविधान मस्यौदा समितिको सभापतिको रूपमा भट्टराईले संविधान निर्माणमा सक्रिय भूमिका खेले ।

राजनीतिक परिवर्तनका संवाहक मानिएका भट्टराईको राजनीतिक जीवन अस्थिर छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगको शक्ति संघर्षको कारण माओवादी छोडेर भट्टराईले नयाँ शक्ति नेपाल पार्टी खोले ।

नयाँ शक्तिबाट राजनीतिक उपलब्धि हासिल गर्न कठिन देखेपछि मधेस केन्द्रीत दल जनता समाजवादी पार्टी जसपामा उनी गाभिए । जसपामा रहँदा पनि भट्टराई कुनै पनि समय सन्तुष्ट हुन सकेनन् ।

यति बेला शक्ति संघर्षका कारण पार्टी अध्यक्ष उपेन्द्र यादवसँग उनी मिल्न सकेनन् । उनी पार्टी पुर्नगठन गर्ने भन्दै फेरि नयाँ प्रयोगमा लाग्दैछन् । त्यसो त उनले पट पटक गरेका ‘नयाँ प्रयोग’ असफल भएका छन् ।

राजनीतिमा ‘नयाँ प्रयोग’ भन्दै अघि बढेका कतिपय नेताहरु गुमनाम भएका छन् । तर भारतको जवाहाल नेहरु विश्व विद्यालयका उत्पादन भट्टराई राजनीतिक प्रयोगहरुमा सफल नभए पनि गुमनाम भने छैनन् ।