१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट बेलायतमा ६१ नेपाली ज्यान गयो

uk

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या ६१ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक तथ्यांक सार्वजनिक गर्दै ६१ नेपालीको मृत्यु भएको जनाएको हो।

नेपाली दुतावास लन्डनबाट यसअघि ६० जना नेपालीको मृत्यु भएको पुष्टि भइसकेको छ। एनआरएनए यूकेले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको समेत बताएको छ।

उनीहरुमध्ये उपचारका लागि अस्पतालमै भर्ना भएका १ सय १५ छन्। तथ्यांकले ३७ जना उपचारपछि निको भएर घर फर्किएको तथा १७ जना अझै पनि अस्पतालमा उपचारकै क्रममा अस्पतालमा रहेको देखाएको छ।

हालसम्म बेलायतमा ६ सय ३२ जना नेपाली कोरोनाको लक्षण देखिएर घरमै आइसोलेसनमा बसेका छन्।

उनीहरुमध्ये ५ सय ७० जना अहिले निको भइसकेका छन् भने ६२ जना अझै पनि आइसोलेसनमै रहेको जनाइएको छ।

एनआरएनए यूकेको हेल्पलाइनको सक्रियतामा तथ्यांक संकलन गरिएको हेल्पलाइनका संयोजक एनआरएनए यूके सचिव जीत रानाभाटले जानकारी दिए।

एनआरएनए यूकेले बेलायतमा अफ्ठेरोमा परेका नेपालीहरुको लागि २५ डाक्टर, २४ नर्स र १ सय २ जना स्वयंसेवक गरी कुल १ सय ५१ जना स्वयंसेवकले सहयोग गरिरहेको जनाएको छ।

संस्थाले समस्यामा पर्ने विद्यार्थीहरुलाई राहतका साथै भूपू गोर्खा र वृद्धवृद्धा लगायतलाई प्राथमिकतामा राखी मास्क, स्यानिटाइजर, पञ्जा लगायतका सुरक्षा सामग्री वितरण पनि गरिरहेको छ।