७ बैशाख २०८१, शुक्रबार

उपत्यकामा अपरिचितलाई रोक : पाहुना लाग्नेदेखि घर कोठामा भित्रिने नयाँ मान्छेलाई समेत कडाइ

Kathmandu Valley 1

उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् ।

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि पाहुना लाग्नेदेखि उपत्यका बाहिरबाट आफ्ना घर कोठामा भित्रिने सम्मलाई थप कडाइ गरिएको छ । मङ्गलबार साँझ काठमाडौँको चन्द्रागिरि नगरपालिका, मध्यपुर ठिमी र चाँगुनारायण नगरपालिकामा एक,एक जना गरी तीन व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

सरकारले पनि उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न नाका जोडिएका स्थानीय तहलाई आग्रह गरेको छ । कतै अपरिचित व्यक्तिलाई पालिकाभित्र प्रवेश निषेध गरिएको छ भने कतै अत्यावश्यक बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । त्यस्तै निर्माण सामग्री बोक्ने सवारी साधन रातको समयमा मात्र सञ्चालन गरिएको छ । सडकमा प्रहरीले कडा चेकजाँच गर्न थालेको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन पालिका स्तरका योजनालाई थप प्रभावकारी बनाउने र पालिका स्तरको समन्वय जिल्लाको स्थिति ‘क्राइसिस म्यानेजमेन्ट सेन्टर’ गर्ने तयारी गरिएको छ । यसअघि आ–आफ्नो पालिकामा निर्माण गरिएका क्वारेन्टाइन थप व्यवस्थित गर्ने, आइसोलेनसन वार्ड थप गर्न सक्ने क्षमता भएका स्थानीय तहले आइसोलेसन वार्ड थप गर्ने तयारी गरिएको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए।

घरधनीलाई आग्रह

काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले घरधनीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेकी छिन् । उनका अनुसार प्रत्येक वडा कार्यालयले घरभाडामा बस्ने तथा घरधनीको सचेतनाका लागि टोल–टोलमा ‘माइकिङ’ सुरु गरिएको छ ।

काठमाडौँ र ललितपुर महानगरपालिकाका कतिपय वडा कार्यालयले सार्वजनिक सूचना जारी गरी पाहुना लाग्ने र गृह जिल्लाबाट पुनः फर्किएर कोठामा बस्न आउनेलाई प्रवेशमा निषेध गर्न आग्रह गरेका छन् ।

घरकोठा छाडेर गएकालाई लकडाउन अवधिमा पुनः घरभित्र प्रवेश गर्न दिई कोरोना सङ्क्रमण फेला परेमा सङ्क्रमित व्यक्तिको उपचार खर्चदेखि महामारी फैलिएमा त्यसको क्षतिपूर्ति घरधनीलाई तिराउने चेतावनी दिन थालिएको छ । अब घरधनीले आफन्त तथा पाहुना र घर बहालमा बस्नेलाई सीधै घरभित्र पस्न दिने छैनन् । वडा कार्यालय तथा स्थानीय जनप्रतिनिधिसँग सम्पर्क गरी त्यस्ता व्यक्तिको कोरोना परीक्षणबाट ‘नेगेटिभ रिपोर्ट’ आए पनि १४ दिन आइसोलेसनमा बस्न अनिवार्य गरिएको छ । गोरखापत्रबाट