१९ बैशाख २०८१, बुधबार

अप्ठ्यारो बाटोमा यादव-भट्टराई: आगामी दिनमा टाउको दुखाँई थप बढ्ने निश्चित

baburam upendra
फाइल फोटो

जनता समाजवादी पार्टी (जसपा)का दुई शीर्ष नेता उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराईले छुट्टाछुट्टै बाटो तय गरेका छन् । यी दुवै नेताले वीरगञ्ज र काठमाडौंमा आफ्नो पक्षको विस्तारित केन्द्रीय कमिटीको बैठक गरेका छन् ।

यादव पक्षले भट्टराई पक्षलाई कारबाही गर्ने निर्णय गरेको छ भने भट्टराई पक्षले भने पार्टीको पुनर्गठन गर्ने निर्णय गरेको छ । यी दुवै पक्षको आगामी यात्रा सहज भने देखिँदैन ।

पार्टी विभाजनको घाउमा खाटो बस्न नपाउँदै जनता समाजवादी पार्टी पुनः विभाजन नजिक छ । विभाजनका लागि अब औपचारिकता मात्रै बाँकी छ ।

कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव पक्ष र संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षले छुट्टाछुट्टै भेला गरेर पार्टी विभाजनको शंखघोष गरिसकेका छन् ।

पार्टी विभाजनबाट दुवै पक्षलाई क्षति पुगे पनि भट्टराईका लागि आगामी यात्रा थप चुनौतीपूर्ण देखिन्छ । जसपालाई नै वैकल्पिक शक्ति बनाउने बताउँदै आएका भट्टराईलाई अब नयाँ वैकल्पिक दल स्थापना गर्न सजिलो छैन ।

तैपनि भट्टराई पक्षीय भेलाले सकेसम्म वैधानिक रुपमा जसपाको आधिकारिकता आफ्नो पक्षमा पार्नका लागि प्रयास गर्ने नभए नयाँ पार्टी गठनका लागि अघि बढ्ने तयारी गरेको देखिन्छ ।

भट्टराईले जसपामा रहेका आफू पक्षीय नेताहरुको साथ लिएर पार्टी गठन गर्ने र त्यसपछि विचार मिल्ने अन्य दलसँग एकताका लागि प्रयास गर्ने सम्भावना रहेको उहाँ निकट नेताहरुको भनाइ छ । केही समय अघि भट्टराईले जेलमै गएर राष्ट्रिय उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई भेट्नु भएको थियो ।

चौधरी पत्नी तथा पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साक्षी राखेर भेटेको तथ्यले पनि पार्टी एकताको प्रयास गर्ने सम्भावनालाई नै बल पुराउँछ । तर माओवादी केन्द्रबाट अलग भएपछि एक पछि अर्को पार्टी गठन, एकता, विभाजन फेरि पार्टी गठन गर्दै जाने शिलशिलाले भट्टराई अस्थिरताको संवाहक जस्तो देखिएको विश्लेषक चन्द्रकिशोर झाको भनाइ छ ।

गुमेको विश्वास आर्जन गर्दै आगामी राजनीतिक यात्रा तय गर्नुपर्ने चुनौती भट्टराई सामु रहेको उहाँको भनाइ छ ।

भट्टराईसँग अलग्गिएपछि यादवलाई पनि सजिलो भने छैन। किनकी हुँदा खाँदाको पार्टी विभाजनको दोष यादवले पनि लिनै पर्ने हुन्छ । यसअघि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरिसक्नु भएको छ ।

यादव नेतृत्वको पार्टी जसपाले नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसँगै लोसपासँग समेत प्रतिस्पर्धा गर्नुपर्ने छ भने भट्टराईको नेतृत्वमा बन्ने नयाँ पार्टी पनि यादव नेतृत्वको पार्टीको प्रतिस्पर्धी नै बन्ने छ । अहिले आफ्नो पक्षमा रहेका नेताहरुलाई टिकाइराख्नु पनि यादवको लागि सहज छैन ।

पार्टीमा सत्ता र स्वार्थका लागि जे पनि गर्न सक्ने नेताहरुको बाहुल्यता भएका कारण यादवलाई आगामी दिनमा टाउको दुखाँई थप बढ्ने निश्चित छ ।