२४ बैशाख २०८१, सोमबार

मुलुकलाई आर्थिक रुपमा श्रीलंकाजस्तै अवस्थामा पुर्‍याउने अवस्था आउन सक्ने एमाले अध्यक्ष ओलीको चेतावनी

60f964c6c092c kp sharma oli 1
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्ने चेतावनी दिनु भएको छ ।

सरकारको गतिविधिलाई हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाकै जस्तो हुने देखिएको अध्यक्ष ओलीको भनाइ थियो । आज ललितपुरमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजनजस्ता विषयले मुलुकलाई आर्थिक रुपमा श्रीलंकाजस्तै अवस्थामा पुर्‍याउने अवस्था आउन सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराइयो । हतियार खरिदमा पनि बजेट विनियोजन गरियो । अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाइने गरिएका कुरा र पृष्ठभागमा गरिएको समर्थनले हामी श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ । त्यसभन्दा अगाडि पनि बढन सक्छ ।

यो अधोगतिलाई ब्रेक लगाउन सकिएन भने त्यो पनि उँधो खस्न सक्छ । बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले गर्न नसक्ने र हतियार खरिदमा यस्तो बदमासी रक्षामन्त्रीले मात्रै गर्न सक्दैन ।’

अध्यक्ष ओली बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउने कुरा अर्थमन्त्री एक्लैले गर्न नसक्ने दावी गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई संकटमा जान नदिन सतर्क रहनुपर्ने समेत बताउनुभयो ।