२२ बैशाख २०८१, शनिबार

“नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्छ”, सीमामा रहेका नेपालीलाई व्यवस्थित रुपमा प्रवेश दिन माग

rastriya sabha

राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नेपाल भारत सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने माग गरेका छन् ।

सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई भारतीय गतिविधिहरुले आक्रान्त बनाएको उल्लेख गर्दै सांसदहरुले काँडेतार वा पर्खाल लगाउन माग गरेका हुन् । सांसद इन्दु कडरियाले सीमा क्षेत्रमा सरकारले काँडेतार लगाउन तयार भए एक वर्षको सेवा सुविधा दिन तयार रहेको बताइन् । अहिले लिपुलेक क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयले तराईका सीमाक्षेत्रमा बस्न बासिन्दालाई आक्रान्त बनाएको उनले बताइन् । ‘‘कुन दिन हाम्रो आगनमा किला गाडेर यो भारतको हो र तँ भारतको नागरिक हो भन्ने अवस्था नआउनला भन्न सकिन्न् । त्यसैले सरकारले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धाण गरेर काँडेतार र पर्खाल लगउनुपर्छ । सरकार यसका लागि तयार हुन्छ भने म आफ्नो एक वर्षको तलब सुविधा दिन तयार छु’’, उनले भनिन् ।

सांसद अनिता देवकोटाले कालापानी क्षेत्रमा भारतले सडक निर्माण गरेको विषयमा प्रधानमन्त्रीले आफुलाई कसैले जानकारी नदिएको भनेर आपत्तिजनक अभिव्यक्ति दिएको बताइन् । भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकारको स्पष्ट धारणा सदनमा जानकारी गराउन उनले माग गरिन् । सांसद उदया शर्मा पौडेलले नेपाली भूमि अतिक्रमण गरी भारतले पक्की सडक बनाएको प्रति घोर आपत्ति जनाइन् । सीमा क्षेत्रमा काँडेतार लगाउन यहि आर्थिक वर्षबाट बजेटको व्यवस्था गर्न आग्रह गर्दै भारत सरकारसँग वार्ताका लागि उचित पहल गर्न सरकारसँग माग गरिन् ।

सीमामा रहेका नेपालीलाई व्यवस्थित रुपमा प्रवेश दिन वलीकाे माग

नेकपाकी सांसद कोमल वलीले भारतीय सीमामा रहेका नेपालीहरुलाई स्वदेश आउन दिन माग गरेकी छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद वलीले सरकारले छिर्न नदिँदा उनीहरुले चोर बाटोबाट छिरेर नेपालमा जोखिम बढाएको तर्क गरिन्।

‘भारतको सीमामा बसेका नेपालीलाई ल्याउने हो भने व्यवस्थित रुपमा ल्याउन जरुरी भएको छ ’ उनले भनिन्, ‘ उनीहरु आ-आफ्नै हिसाबले छिरिरहेका छन् ।’ वलीले कोरोना भाइरसको संक्रमण देखिएका समुदाय सिल गर्नसमेत माग गरिन्।

लुकिछिपी नेपाल आउनेको संख्या बढेसँगै संक्रमितको दरपनि बढेको उल्लेख गर्दै उनले सरकारले उचित प्रवन्ध मिलाएर सीमा क्षेत्रमा रहेका नागरिकलाई स्वदेश ल्याउनुपर्ने बताइन् । संक्रमण देखिएको समुदायमा सिल गर्नुपर्ने र त्यहाँ आवश्यक स्वास्थ खाद्यान्नका कुराहरुको प्रवन्ध मिलाउन स्थानीय तहहरुलाई निर्देशन दिन उनले सरकारसँग आग्रह गरिन् ।

सांसद तारादेवी भट्टले सीमा क्षेत्रमा रहेका नागरिकहरु दुबै देशले उचित व्यवस्थापन गर्ने सहमति भएपनि भारततर्फ विना कुनै सूचना दशगजा क्षेत्रमा नेपाल नागरिक अलपत्र रहेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन् । खाडीमा रहेका नेपालीहरुको उद्धार गरी स्वदेश फर्काउन पनि उनले आग्रह गरिन् ।