१२ बैशाख २०८१, बुधबार

सक्रिय फुटबल खेल्दा खेल्दै अचानक बेपत्ता बनेका पूर्वफुटबलर विलियम राई

dharan

उमेर ढल्किएपछि पूर्वखेलाडीको जीवन निरस र कष्टपूर्ण भएको धेरै उदाहरण छन् । धरान निवासी ६५ वर्षीय विलियम राईले २०५५ सालसम्म सक्रिय फुटबल खेलेका थिए ।

त्यसपछि अचानक बेपत्ता बनेका उनी २५ बर्षपछि भेटिए । पूर्व फुटबलर विलियमले २५ बर्षमा बिताएको समय भने कहाली लाग्दो छ ।

चार दशकअघिसम्म धराने फुटबलको बेग्लै स्वाद थियो । तत्कालिन कोशी अञ्चलको टिममा धरानका खेलाडीको बाहुल्यता हुन्थ्यो । तीनै मध्येका थिए, विलियम राई । सक्रिय फुटबल खेल्दा खेल्दै २०५५ सालमा उनी एकाएक सम्पर्कविहीन भएका भए ।

परिवारको समेत सम्पर्कमा नरहेका विलियम २ साताअघि भने दुबईमा अलपत्र अवस्थामा भेटिए । दुबईमा रहेका अजय कार्कीले बनाएको टिकटक भिडियोमा राई देखापरेपछि धराने फुटबलकर्मीको पहलमा राईलाई उद्धार गरी धरान ल्याइएको छ ।

विलियमले आफू आर्थिक स्थिति सुधारका लागि विदेशिएको तर दश वर्षदेखि भिसा सकिएर दबइको एउटा आश्रममा बस्न बाध्य बनेको बताएका छन् । नेपाल फर्किएर आफ्ना समकालिन खेलाडीहरुसंग भेट्न पाउदा राई निकै भावुक देखिन्थ्ये ।

विलियमको बाल्यकाल र युवा उमेर धरानमा बित्यो। उनका बुबा ब्रिटिश घोपा क्याम्पमा काम गर्थे। त्यसैले परिवार नै घोपा क्याम्पमा नै बस्थे। विलियम पनि त्यहीं काम गर्दागर्दै फुटबल पनि खेल्थे। उनी धरानको मात्र होइन, पूर्वाञ्चलकै उत्कृष्ट खेलाडी बने। उनले नखेलेको प्रतियोगिता कमै हुन्थ्यो।

उनी मिडफिल्डर थिए। टिमको प्रमुख प्ले मेकर। टिममा विलियम हुँदा अन्य खेलाडीहरुको आत्मविश्वास पनि बढ्थ्यो। मिनि ब्राजिलका उनै विलियम अढाई दशकदेखि कता थिए भन्ने कसैलाई थाहा थिएन।

धरानको ब्रिटिश क्याम्प हटेपछि उनको परिवार काठमाडौं गएका थिए। २०५५ सालसम्म धरानका उनका समकालीन केही खेलाडीसँग सम्पर्कमा रहेका विलियम त्यसपछि एकाएक हराए। पछिल्लो पुस्ताका फुटबल खेलाडीहरुले समेत उनलाई चिन्न नसक्ने अवस्था आइलाग्यो।

धरानसँग मात्र होइन, खेलाडीहरु र परिवारसँगै पनि सम्पर्कविहीन भएका विलियम करिब २ साताअघि दुबईमा भेटिए। एक जना व्यक्तिले विलियमको छोटो भिडियो टिकटक राखेको उनका समकालीन साथीहरुले भेटे। त्यसपछि उनलाई नेपाल फर्काउने पहल भयो।

उनको ८/९ वर्षदेखि भिसा सकिएर एउटा आश्रम जस्तो ठाउँमा आश्रय लिइरहेको भेटियो। त्यसपछि, गायक प्रकाश पौडेल, प्रकाश देवानलगायत धरानेहरुको पहलमा उनलाई नेपाल फर्काइयो।

उनै गुमनाम ६५ वर्षीय विलियम राईले शनिबार धरानको भूमिमा पाइला टेके। उनलाई भेट्न धरानका पुराना प्रायः सबै खेलाडीहरु पुगेका थिए। धरान १८ स्थित शेर्पा संघको हलमा पूर्वखेलाडीहरुले विलियमलाई सम्मान कार्यक्रम राखेका थिए।

उनलाई पूर्वखेलाडीहरुको तर्फबाट नगद १ लाख १ हजार १ रूपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरियो। टेम्के क्लब धरानले नगद ५५ हजार रूपैयाँ र अखिल नेपाल फुटबल संघ सुनसरी जिल्लाबाट २० हजार रूपैयाँसहित सम्मान गरेको छ। साथै, धरान फुटबल क्लब, रेफ्री संघलगायतले पनि उनलाई सम्मान गर्यो।

साथीभाइ, परिवार र देशसँग नै सम्पर्कविहीन भएका विलियम नेपाल आएको २ साता पनि भएको छैन। विस्मृति झैं भइसकेको धरानमा पाएको यो सम्मानले उनी शनिबार भावुक बने। औपचारिक कार्यक्रममा उनी बोल्नै सकेनन्। उनले मात्र भने, ‘सबैलाई धन्यवाद छ।’

अन्तर्मुखी स्वभावका विलियम औपचारिक कार्यक्रम सकेपछि मात्र उनी बिस्तारै खुले। ‘एकदमै खुसी लागेको छ। धरान आएर साथीहरु भेटेँ, भाइहरुलाई भेटेँ,’ उनले भने, ‘मैले यति साह्रो गर्छ भनेर आशा नै गरेको थिइनँ।’ लामो समयपछि धरानमा आउँदा सुरुमा आफ्ना साथीभाइहरु पनि चिन्न मुश्किल परेको उनले सुनाए।

विलियमका अनुसार उनी दुबईमा भिसा सकिएपछि अलपत्र झै परेका थिए। फोन हराएपछि उनको नेपालमा भएका आफन्त, साथीभाइ सबैसँग सम्पर्क टुटेको थियो। फाइन बढ्दै गएको र तिर्न नसकेको उनले बताए। ‘फाइन थियो, त्यतिकै अल्झिए। फोन हरायो, सम्पर्क नम्बर पनि थिएन घरको। कसैसँग सम्पर्क थिएन, र हरेश खाएँ,’ उनले भने।

अहिले उनी बहिनी रेणु लामासँग छन्। विगत ११/१२ वर्षदेखि सम्पर्कविहीन भएका दाइ घर आउँदा उनी जति खुसी थिइन्, शनिबार त्यो भन्दा बढी खुसी धरानमा दाइले पाएको माया र सम्मानले उनलाई दिएको छ। ‘दाइ मर्यो कि बाँच्यो थाहै थिएन। एउटा टिकटकको भिडियोबाट भेटियो,’ उनले भनिन्, ‘आज धरानमा यति धेरै माया दाइले पाउनुभयो, यो खुसी व्यक्त गर्न सकिँदैन।’

विलियमलाई नेपाल फर्काउने प्रमुख पहलकर्ता हुन्, पूर्वराष्ट्रिय खेलाडी इन्दु रसाइली। उनका अनुसार २०३५, ३६ सालतिर विलियम राई पूर्वाञ्चलमै नाम कमाएका खेलाडी थिए। टिमको कि प्लेयर नै विलियम भएको उनले स्मरण गरे। ‘उहाँ नभएको बेला कता कता डर लाग्ने, विलियम दाइ हुनुहुन्न भनेर,’ उनले सुनाए, ‘उहाँ टिममा हुनुबित्तिकै ९९ प्रतिशत विपक्षीलाई जित्छौं भनेर उत्साहित हुन्थ्यौं।’ सम्मान कार्यक्रममा विलियमबारे बोलिरहँदा उनको आँखामा आशु थियो, र केहीबेर उनी बोल्नै पनि सकेका थिएनन्।

फुटबलर राईबारे यतिधेरै समय कतैबाट सोधीखोजी समेत नहुनु दुखद हो । देशकै लागि खेल क्षेत्रबाट योगदान पुर्याएका यस्ता व्यक्तिहरुलाई सबै क्षेत्रबाट संरक्षण र सहयोग जरुरी देखिन्छ ।

welam