१३ बैशाख २०८१, बिहीबार

कायापलट नै गरेको बताउने एन्फा: खेलेरै जीविकोपार्जन सम्भव नदेखेपछि खेलाडी पलायन बढ्दो

game

नेपाली फुटवल क्यालेन्डर अनुसार चलेको भए यति बेला ट्रान्सफर मार्केट र प्रि-सिजनको समय हो । ए डिभिजन लिगका लागि कसरी आफ्नो टिम बलियो बनाउने भन्ने ध्याउन्नमा क्लबहरु हुन्थे ।

अखिल नेपाल फुटवल संघ एन्फा पनि अन्तर्राष्ट्रिय एक्सपोजर खोज्दै लिगलाई अझ व्यवसायिक बनाउने विषयमा केन्द्रीत हुने थियो । तर विडम्बना, अहिले एन्फा र क्लबहरु राष्ट्रिय टिमका कति खेलाडी विदेश पलायन भए भनेर हिसाव गरेर बसेका छन् ।

दुई साता अघि भएको एसियन कप छनोटको तेस्रो चरणमा दर्शन गुरुङले कुबेतविरुद्ध गोल गरे । नेपालले घरेलु टोलीसँग चार-एक गोलको हार बेहोरे पनि दर्शनले खुशी मनाउने बहाना पाए ।

कुनै पनि नेपाली खेलाडीले कुबेतविरुद्ध ४० वर्षपछि गरेको गोल थियो त्यो । तर समर्थकको यो खुशी ४० दिन पनि टिकेन । नेपाली फुटवलले दर्शनलाई भविष्यको रुपमा हेर्‍यो । तर दर्शनले भने आफ्नो भविष्य नेपाली फुटवलमै देखेनन् र विदेश जाने निर्णय लिए ।

सन्तोष तामाङ, नविन गुरुङ, सुमन लामा र आषिश लामाले पनि केही दिन अघि नै नेपाल छाडेर अस्ट्रेलिया गए । हेमन गुरुङ, एलन न्यौपाने र जगजीत श्रेष्ठ पनि अस्ट्रेलिया पलायन भएको धेरै भइसक्यो ।

नेपालमा लगातार फुटबल हुँदैन । भएका प्रतियोगिता पनि व्यवस्थित छैनन् । खेलाडीले पर्याप्त पैसा पाउँदैनन् । त्यसैले परिवार पाल्नकै लागि उनीहरु विदेसिन बाध्य छन् ।

पुरुष मात्र होइन, महिला खेलाडी पनि पलायन भइरहेका छन् । दुवईमा मात्रै हेर्ने हो भने पनि नेपाली महिला फुटबलका स्टार खेलाडीको एउटा टिमनै पुग्छ । खेलाडी पलायन हुनुको मुख्य कारण के हो त ?

केही खेलाडी बढी महत्वाकांक्षी भएर पनि विदेशीका छन् । तर अधिकांश नेपालमा खेलेरै बाँच्नसक्ने अवस्था नदेखेपछि बाध्य भएर देश छोड्ने अवस्थामा पुगेका हुन् । निर्वाचनको समयमा नेपाली फुटवलको कायापलट नै गरेको बताउने एन्फाले यो तीतो यथार्थलाई कहिलेसम्म अस्वीकार गर्ने ?