१३ बैशाख २०८१, बिहीबार

पाँच वर्षदेखि उधारै एन्फाले घोषणा गरेको पुरस्कार !

Capture 1

हरेक पुरस्कार, प्रोत्साहन हो । अझ खेलाडीका लागि त जित्नु र पुरस्कार हात पार्नु सफलतासँगै कमाईको प्रमुख श्रोत नै मानिन्छ । तर खेलेरै पैसा कमाउने अवस्था भैनसकेको नेपालमा खेलाडीले पाउने पुरस्कार रकम नै उधारो राख्ने चलन छ । अखिल नेपाल फुटबल संघ एन्फाले त पाँच बर्ष अघिको पुरस्कार अझै दिएको छैन ।

खेलेर पाएको नगद पुरस्कार, खेलाडीका लागि प्रोत्साहनसँगै केही हदसम्म भए पनि आर्थिक जोहो गर्ने माध्यम समेत हो । तर त्यसको महत्व समयमै पाए मात्रै रहन्छ । तर विभिन्न प्रतियोगिता जितेपछि एन्फाले घोषणा गरेको नगद पुरस्कार खेलाडीले पाँच बर्षदेखि पाएका छैनन् ।

सन् २०१७ मा भुटानमा भएको साफ यु १९ च्याम्पियनसिपमा नेपाली युवा खेलाडीले उपाधी उचालेपछि एन्फाले घोषणा गरेको जनही २ लाख नगद पुरस्कार अझै पाएका छैनन् ।

त्यो बेला एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ थिए । एन्फामा त्यसयता दुई पटक नेतृत्व फेरिएको छ । उमेर समुहका केही खेलाडी नै सिनियर टिममा पुगिसके । तर पुरस्कार हात पर्ने टुङ्गो अहिलेसम्म छैन ।

सन २०१९ मा घरेलु मैदानमा भएको १३ औं दक्षिण एशीयाली खेलकुद सागमा भुटानलाई पराजित गर्दै फुटबल तर्फ नेपालले स्वर्ण पदक जितेको थियो । च्याम्पियन भएको टिमलाइ, एन्फाले पाँच लाख पचास हजार नगद दिने भन्यो ।

गत बर्ष दशरथ रंगशालामा नेपालले त्रिदेशीय कपको उपाधी जित्नासाथ एन्फाले रकम घोषणा गर्न ढिला गरेन । २०१९ मा विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपको उपविजेता नेपाललाइ एक लाख पुरस्कार दिइने भनियो । तर खेलाडीलाई अहिलेसम्म पुरस्कार रकम दिएको छैन ।

एन्फा नेपाली फुटबलको सर्वोच्च निकाय हो । तर एकपछि अर्को पुरस्कार घोषणा गरेर पैसा दिन झुलाउँदा खेलाडीको मेहनत र उर्जा नै घट्छ भन्ने एन्फा नेतृत्वले किन बुझ्दैन ? अनि दिन नसक्ने हो भने पुरस्कार घोषणा किन गर्छ ? बाहाना जे गरे पनि पुरस्कार घोषणा गर्ने तर बर्षौ उधारो एन्फाको प्रवृतिले खेलाडीको भावनामा समेत खेलवाड गरेको छ ।