८ बैशाख २०८१, शनिबार

समयमै ध्यान नपुगे संकट झन गहिरिने नेपाल आयल निगमको चेतावनी

petrol

नेपाल आयल निगमले तेलको खपत कम गर्न सोमबार १० बुँदे सुझाव सार्वजनिक गर्दै खपत घटाउनुको विकल्प नभएको भनेको छ ।

पेट्रोलियम पदार्थ बिक्रीमा कोटा तोक्न र प्रमुख सहरमा शनिबार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्न पनि सुझाव दियो । निगमले विद्युतीय चुल्हो सहुलियतमा बेच्ने, छोटो दुरीमा सवारी साधनको प्रयोग नगर्ने जस्ता विकल्प पनि अघि सारेको छ ।

घाटाको व्यापारले आयल निगम आर्थिक रुपमा जर्जर अवस्थामा छ । सरकारले चर्को कर लिने गरेकोले उपभोक्ताले पनि महंगो मुल्य तिरेर इन्धन किन्नु परेको छ ।

विज्ञहरु भने सरकारले वैकल्पिक उपाय खोजेर भारतीय आयल निगम तथा चीनसँग कुरा गर्नुपर्ने र सस्तोमा तेल ल्याउनुपर्ने सुझाव दिन्छन ।

नेपालमा दैनिक एक अर्बको इन्धन खपत हुन्छ। वैदेशिक मुद्राको संचित घट्नु र पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आउने अवस्था नदेखिनुले खपत कम गर्नुको विकल्प देखिन्न । तर त्यो भन्दा महत्वपूर्ण कुरा चाहीँ विद्युतीय उपयोग बढाउनु हो ।

आयल निगमले सरकारलाई दिएको १० बुँदे सुझाव

१) सार्वजनिक तथा अत्यावश्यक सेवाका सवारी साधनहरू बाहेक सरकारी तथा नीजि सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने।

२) देशका प्रमुख शहरहरूमा प्रत्येक शनिबार गाडीरहीत सार्वजनिक बिदाको घोषणा गर्ने।

३) खाना पकाउने एलपी ग्यासको खपत कम गर्न बिद्युतीय चुलो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनको लागि विद्युतीय शुल्क कम गर्ने।

४) विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख शहरहरू र राष्ट्रिय राजमार्गमा निः शुल्क चार्जिङ्ग स्टेशन निर्माण गर्ने तथा सार्वजनिक, निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङ्ग स्थल तोकिदिने।

५) पेट्रोल पम्पहरूले मोटरसाइकललाई एक पटकमा ५ (पाँच) लिटर र कार तथा जीप लगायतका साना सवारी साधनलाई २० (बीस) लिटर मात्र ईन्धन बिक्री गर्ने।

६) छोटो दूरीमा सवारी साधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने।

७) ढुवानी कार्यमा प्रयोग हुने मालवाहक सवारी साधनहरू पूर्ण क्षमतामा चलाउने।

८) मोटरसाइकल, कार, सरकारी सवारी साधन आदिमा सिट अनुरुप नै यात्रु रहने गरी सञ्चालन गर्ने ब्यवस्था मिलाउने।

९) पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका अन्य उपकरणहरूको आयात बन्द गर्ने।

१०) ठूला उद्योग, परियोजना, होटेल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने।