१४ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा पहिलोपटक एक नर्समा कोरोना संक्रमण पुष्टि

nurse pic

तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो । बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ ।

मंगलबार विभिन्न प्रदेशमा गरि थपिएका ५७ संक्रमितमध्ये एक जना नर्स भएको प्रदेश ५ प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले जानकारी दिए ।

कपिलवस्तुमा मंगलवार संक्रमण पुष्टि भएको थियो । संक्रमित जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स हुन् ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको हो ।

कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा तौलिहवा अस्पतालकी स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएको हो ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन ।

स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तुमा ८ जना संक्रमित थपिएका छन् । ती सबै कपिलवस्तु नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये एकजना तौलिहवा अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

मंगलबार संक्रमण पुष्टि भएका ८ जनासहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।

संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ ।

उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।