१५ चैत्र २०८०, बिहीबार

यसरी डुब्दै राष्ट्रिय ध्वजावाहक वायुसेवा

nepal airlines

६४ वर्षे इतिहास बोकेको राष्ट्रिय ध्वजाबाहक हवाई सेवा प्रदायक संस्था नेपाल वायुसेवा निगम यतिबेला आर्थिक चपेटामा छ । निगमसँग भएका १३ जहाजमध्ये ७ वटा ग्राउन्डेड छन् ।

निगमसँगै व्यवसाय सुरु गरेको भनिएको थाई एयरवेजसँग अहिले १०० भन्दा बढी विमान छ । बढ्दो राजनीतिक हस्तक्षेप र त्यसपछिका विभिन्न काण्डले निगम भ्रष्टाचार, विकृति र कमजोर व्यवस्थाको नमूना बनेको छ ।

सन् १९५८ मा २८ सिट क्षमताको डाकोटा डीसी–३ जहाजबाट निगमले उडान सुरु गरेको थियो। अहिले निगमको एयरबसदेखि वाइडबडीसम्मले उडान भर्दै आएको छ। तर, अहिले अव्यवस्था र ऋणको भारले निगम थिलथिलो बनेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानमा अहिले दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी एयरबस प्रयोग गर्दै आएको छ। आन्तरिक उडानमा भने दुईवटा ट्विनअटर जहाज मात्र रहेका छन् ।

आर्थिक भार थेग्न नसकेपछि चीनसँग किनेका दुईवटा एमए–६० र ४ वटा वाई–१२ जहाज भने २०७७ असार १५ गतेबाट उडान बन्द गरेर बसेको छ ।

यतिमात्र होइन निगमको ऋण दायित्व करिब ४७ अर्ब रुपैयाँ पुगेको छ । यसको प्रमुख कारण निगम भित्रको अव्यवस्था र बढ्दो राजनीतिक हस्तक्षेप नै रहेको बताइन्छ ।

निगमको घाटा वार्षिक करिब २ अर्ब रुपैयाँ नजिक पुगेको छ। हरेक सरकार र तालुकदार मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका पहिलो प्राथमिकतामा निगमको सुधार पर्ने गर्छ ।

तर वार्षिकरुपमा टाटपल्टिदै जाँदा अहिले निगमलाई जहाज खरिद गर्दा लिएको ऋणको साँवा व्याज भुक्तानीमा मात्र होइन, अवकास प्राप्त कर्मचारीलाई पेन्सन खुवाउन स्रोत जुटाउनै मूश्किल पर्न थालेको छ ।

व्यवसायसँगै सुरु गरेको थाइ एयरवेजसँग अहिले १०० भन्दा बढी जहाज छ । ति विमानले ३७ देशका ८४ वटा गन्तव्यमा उडान भर्छन् । तर निगमको अवस्था भने बार्षिक रुपमा खस्कदो छ ।

योबीचमा निगम सुधारका लागि भन्दै दुई दशकको अवधिमा आधा दर्जन बढी कार्यदल बनाइए । निगम खारेज गर्नेदेखि कम्पनी मोडमा लैजाने सम्मको सुझाव दिइयो । तर यी दुबै विकल्प उपयुक्त नभएको जानकार बताउँछन् ।

अहिले पनि मन्त्री फेरिएपिच्छे निगममा आफू अनुकुलको नियुक्ती गर्ने र कर्मचारी भर्ती गर्ने कामले निरन्तरता पाइरहेको छ । २०७३ यता मात्रै ७ जना पर्यटन मन्त्री बने भने यो पाँच वर्षमा पाँच जनाले निगमको नेतृत्व गरे । यिनीहरु कसैले पनि पूर्ण कार्यकाल भने काम गर्न पाएनन् ।