६ बैशाख २०८१, बिहीबार

संकट अहिले दलहरुभित्र: राजनीतिमा नयाँ तरङ्ग आक्रामक रुपमा बढे !

all party

स्वतन्त्र उम्मेदवारहरु सगठित रुपमा आक्रामक रुपमा बढेपछि राजनीतिमा नयाँ तरङ्गहरु आउन थालेका छन् । यसको असर दलहरुमा परिरहेको छ ।

परम्परागत दलका शिर्ष नेताहरु निर्दलीयताको अभ्यास हुन लागेको भन्दै खतरा औल्याइरहेका छन् । वास्तवमा नेताहरुको ३ दशकभन्दा लामो एकछत्र प्रभाव र त्रुटीहरुका कारण स्वतन्त्रहरु उदाइरहेका छन् ।

अहिले दलहरुभित्र संकट पनि आइरहेको छ । नेपाली काँग्रेसभित्र रचनात्मक विद्रोहको शब्द डा. शेखर कोइराला समूहले खुलेआम गरेको छ । त्यो कस्तो विद्रोह हो स्पष्ट छैन तर सभापति शेरबहादुर देउवालाई सजिलो भने छैन ।

नेकपा एमालेभित्र पनि भीम रावल पक्षधर चुप लागेका छैनन् । रावलले खुलेआम ओलीको आलोचना गरिरहेका छन् । घनश्याम भुसाल पनि विद्रोही स्वभाव देखाइरहेका छन् ।

सत्ता गठबन्धन तोड्ने र जोगाउने रस्साकस्सी चलि नै रहेको छ । नेकपा माओवादी केन्द्रभित्र वर्षमान पुन समूह नेकपा ब्युँताउन सक्रिय छ । नारायणकाजी श्रेष्ठले पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् ।

नेकपा एसभित्र भाडभैलो छ । मन्त्रीबाट हटेपछि प्रेमबहादुर आले, विरोध खतिवडा, रामकुमारी झाँक्री र किसान श्रेष्ठ असन्तुष्ट छन् । किसान वामदेव गौतमसँग नजिक भएकाले माधव नेपाललाई कति समय साथ दिने हुन् चासो बनेको छ ।

वामदेव गौतमको सक्रियता पनि बढेको छ । उनी ओली, प्रचण्ड र माधव नेपाललाई मिलाउन लागेका छन् । पहिलो चरणमा भेटवार्ता गरेका छन् ।
जसपा फुटको नजिक छ । डा. बाबुराम भट्टराई रणनीतिक ढंगले लागेका छन् । उनी समाजवादी केन्द्र बनाउने योजनासहित प्रचण्डसँग छलफलमा जुटिसके । यसरी तरल राजनीतिमा अनेकन सम्भावनाहरुको अड्कल गर्न थालिएको छ ।

दलहरु फुट्ने र नेताहरु निश्चित उद्देश्यका लागि जुट्ने परिस्थिति बनेको छ । चुनावमा स्वतन्त्रहरुको पनि पल्लाभारी नहोला भन्न सकिन्न ।

दलहरुप्रतिको वितृष्णा र आक्रोशको मत स्वतन्त्र उम्मेदवारहरुले लगेर बाजी मार्ने सम्भावना पनि उत्तिकै छ । भित्र भित्र राजनीतिक खिचडी पाक्दै गर्दा आउँदो चुनाव अप्रत्याशित नतिजाहरुले भरिने देखिदैछ ।