१७ बैशाख २०८१, सोमबार

निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

ubaraj adhikari

सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो। गत मंसिर ८ गते सरकारले उनलाई निगमको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

पछिल्लो समय उनको र पर्यटनमन्त्री प्रेमबहादुर आलेको सम्बन्ध राम्रो थिएन । मन्त्री आलेसँग सम्बन्ध तिक्त रहेका अधिकारीमाथि कानुनी आधार र औचित्यबिना ट्वीनेटर विमान भाडामा लिएको, निगमको जहान साउदी अरब सञ्चालन गर्न जम्बो टोलीलाई भ्रमणमा लगेको आरोप लगाइएको छ।

आलेले अधिकारीलाई अश्लिल शब्दले गाली गरेको अडियोसमेत सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भए लगत्तै कर्मचारीको एक समूहले आलेलाई बर्खास्त गर्न माग गर्दै आएको थियो ।

यद्यपी त्यसअघि नेपाल वायु सेवा निगमका कर्मचारीको अर्को समूहले गत वैशाखमा नै अधिकारीलाई हटाउन माग गर्दै आलेलाई ज्ञापन पत्र बुझाएका थियो ।

सार्वजनिक प्रतिस्पर्धा नगराई एउटा संस्थालाई मात्र सहभागी गराई सोझै टिकट विक्री गर्ने कार्य गरेकोलगायत दर्जन बढी आरोप अधिकारीमाथि छ ।

निगम सञ्चालनका लागि कुनै पनि योजना नभएको, निगमको व्यापार राम्रो हुँदा समेत कर्मचारी सञ्चय कोषमा किस्ता नबुझाएको, निकट भविष्यमा सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक गुरुयोजना नबनाएको आरोप कर्मचारीहरुले अधिकारीमाथि लगाएका थिए । त्यसपछि सरकारले अधिकारीका बारेमा छानबिन गर्न समिति गठन गरेको थियो ।