१६ चैत्र २०८०, शुक्रबार

नियन्त्रणबाहिर महंगी- सत्तापक्ष र प्रतिपक्ष दल भने कानमा तेल हालेर आफ्नो स्वार्थ सिद्ध गर्नमै केन्द्रित !

cost
सांकेतिक तस्विर

पछिल्लो समय इन्धनमा भएको मूल्यवृद्धिसँगै महंगी ह्वात्तै बढेको छ । मूल्यवृद्धि नियन्त्रणबाहिर गएपनि सत्तापक्ष र प्रतिपक्ष दल भने कानमा तेल हालेर बसेका छन् ।

उनीहरूको ध्यान महंगी नियन्त्रणमा भन्दा पनि राजनीतिक रोटी सेकेर आफ्नो स्वार्थ सिद्ध गर्नमै केन्द्रित छ । त्यसैले त दलहरूको प्राथमिकतामा जनता परेका छैनन् । यससँगै जनताको जीवनस्तरमा मार पर्दा पनि बोल्न नसक्ने नेताहरूको नियत हेर्दा सत्तापक्ष र प्रतिपक्षबीच मिलेमतो भएको आशंका हुन थालेको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य लगातार वृद्धि गरिरहेको छ । यो वृद्धिले सबै क्षेत्रमा सोही अनुपातमा महंगी बढेको छ । महंगीले नागरिकको जीवनयापन कठिन भइसकेको छ। राजनीतिक दलले चाहने हो भने मूल्यवृद्धि नियन्त्रण हुन सक्थ्यो ।

तर, उनीहरूको चासो जनतासँग जोडिएको विषयमा देखिँदैन । महंगीका कारण समस्यामा परेका जनताको दुःख बुझ्न सरकार चाहँदैन । सरकारमा जानेहरुले नागरिकको समस्याप्रति बेखबर हुँदा प्रतिपक्षी दलले यसबारे बुलन्द आवाज उठाउनुपर्ने हो । तर प्रतिपक्षी दल औपचारिकताबाट माथि उठेको देखिँदैन ।

जति पटक पेट्रोलियम पदार्थको मूल्य बढ्छ, त्यति नै पटक सबै वस्तुको भाउले नयाँ उचाई लिने गर्छ । महंगीले ढाड सेक्दा जनताको आँसु पुछ्नुपर्ने सरकार अझै बाध्यता रहेको कारण देखाउँदै महंगीलाई नियन्त्रण गर्न चाहँदैन । सत्तापक्षका नेताहरू सरकारको कमजोरी ढाकछोप र बचाउमा उत्रिन्छन् ।

हप्तैपिच्छे इन्धनको मूल्य बढिरहँदा सरकारलाई प्राप्त हुने करको अनुपात पनि बढिरहेको छ । सरकारले चाहे जसरी पनि मूल्य नियन्त्रणमा लिन सक्छ वा कम खपतका योजनाहरु बनाउन सक्छ । तर यसबारे बोलिदिने कोही नहुँदा सरकार चलाउनेहरु मनमौजी भएको देखिन्छ ।

पालैपालो सरकारमा जाने, सत्ताको लाभ लिने र रेमिट्यान्सबाट आएको पैसाले तलब–भत्ता खानेहरु नागरिकको समस्यामा संवेदनशील देखिँदैनन् । जुनसुकै पार्टी सरकारमा पुगे पनि कुनै नयाँ योजना र तरिकाहरु नहुने भएकाले सरकार बाहिर हुँदा पनि चुप लागेर सरकारमा जाने दिन कुर्नु विपक्षी दलहरुको दैनिकी हुने गरेको छ ।

यसैकारण संसद बैठकहरुमा समेत दलहरु नागरिकको जनजीविकासँग जोडिएका विषयमा संवेदनशील रुपमा कुरा राख्न अघि सरेको देखिँदैन । अब चरम मूल्य वृद्धिका विरुद्ध बोलिदेलान् भनेर कसरी आश गर्ने रु यहाँ त सत्ता पक्ष र प्रतिपक्षकै मिलेमतो जो देखिएको छ ।