१६ बैशाख २०८१, आईतवार

जबजब निर्वाचन नजिकिन्छ तब वामहरुबीचको एकता चर्चा र चासोको विषय बन्छ ?

oli prachanda
फाइल फोटो

विभाजित कम्युनिष्टहरुलाई एक बनाउने उद्देश्यसहित पुनः एकपटक वाम एकताको विषय चर्चामा छ । तर शीर्ष नेतृत्वका अभिव्यक्तिले एकता र सहकार्यको सम्भावना निकै न्यून देखिन्छ ।

जबजब निर्वाचन नजिकिन्छ, तितरबितर रहेका वामहरुबीचको एकता चर्चा र चासोको विषय बन्छ । अनि यही सम्भावनालाई दलहरुले राजनीतिक स्वार्थ र बाग्रेनिङको माध्यम बनाएर फाइदा लिन्छन् ।

केही दिन अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको विषय एकाएक चर्चामा आयो ।

त्यसको केहिदिनमै फेरि एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई पनि प्रधानमन्त्रीकै प्रस्ताव आएको दाबी गरे । तर यी दुवै दाबीको आधिकारिक पुष्टि कसैले गर्न सकेनन् । ठिक वाम एकताकै चर्चा भइरहेका बेलाअन्धाधुन्ध भएका फायरिङले फेरि पनि कम्युनिष्ट मिल्ने सक्ने सम्भावना र अन्योलतालाई अलमलमै छोडेको छ ।

मुख्यतः अहिलेहुनसक्ने भनिएको एकता एमाले र माओवादीबीचको हो । आजभन्दा झण्डै पाँचबर्षअघि एकभएर तीनबर्ष पछि नै विभाजित बनेका यी पार्टीमा वाम एकताको पक्षमा बोल्ने नेताहरुको संख्या उल्लेख छ । वाम एकतालाई अहिलेको आवश्यकता पनि भनिएको छ । तर शिर्ष तहमा रहेका ओली–प्रचण्ड एकअर्काको अस्तित्व स्वीकार्ने सकिरहेका छैनन् । माधव नेपाल भने प्रचण्डले देखाएको बाटोमा चल्ने हालतमा छन् ।

स्थानीय तहमा काँग्रेस अनुकुल आएको मतपरिणामले काँग्रेस नेतृत्वकै गठबन्धनमा बसेर काँग्रेससँगै उनीहरु डाहा गरिरहेका छन् । झन आगामी संसदीय निर्वाचनमा हुनसक्ने भागबण्डाको विषय सबैभन्दा पेचिलो छ ।

असार १७ मा गठबन्धन टुट्छ भनेर एमाले अध्यक्ष ओलीले घोषणा गरेका बेला माओवादी–समाजवादीलाई काँग्रेसले दिने हिस्सा नै अब निर्णायक हुनेछ । १६५ प्रत्यक्षतर्फको सिट बाँडफाँडमा माओवादी एक्लैले ४० प्रतिशत दाबी गर्ने तयारी गरेको छ । नमिले एमालेसँग तालमेल गर्न जाने धम्कीसमेत आइरहेका छन् । यसले साच्चिकै वाम एकताको प्रयास भने नभएको देखाएको छ ।

स्थानीय तहमा दलहरुले पाएको सिट संख्याकै आधारमा संसदीय निर्वाचनको भागबण्डा टुङग्याउने गठबन्धनको तयारी छ ।प्राप्त लोकप्रिय मतको आधारमा झण्डै १२० सिट दाबी गर्ने तयारी काँग्रेसको छ । तर माओवादीसहितका अन्य दल ८० सिट काँग्रेसलाई दिएर बाँकी रहेको ८५ आफ्नो पक्षमा राख्ने तयारी गरिरहेका छन् ।

तर यसमा सचेत देखिँदै आएका देउवा गठबन्धनमा लचिलो देखिएपनि गणितमा पेचिलो बन्ने पक्कापक्की छ । यसले फेरि वाम एकताकै आवश्यक्ता दलहरुमा पर्नेछ । तर शिर्ष नेतृत्वका एकताविरोधी अभिव्यक्ति नरोकिएसम्म वाम एकता सम्भावनामै सीमित रहनेछ ।