२० बैशाख २०८१, बिहीबार

कहिले र कहाँबाट मल आउँछ प्रस्ट जवाफ चाहियो: सांसद विशाल भट्टराई

Bishal Bhattarai

नेकपा एमालेका सांसद विशाल भट्टराईले खेतीको मुख्य सिजनमा रासायनिक मलको अभाव देखिएको भन्दै मल कहाँबाट कहिलेसम्म ल्याउने भन्नेबारे प्रस्ट जवाफ दिन माग गरेका छन् ।

प्रतिनिधिसभामा स्थगन प्रस्ताव पेस गर्दै उनले खेतीको समय गुज्रिसकेपछि जति नै मल ल्याए पनि त्यसको अर्थ नरहने बताए । अहिले बजारमा रासायनिक मलको हाहाकार भएको भन्दै उनले धान खेतीको मुख्य सिजनमा मल उपलब्ध नहुँदा किसान मर्कामा परेको बताए ।

‘हाम्रो देशको मुख्य बाली धान, वर्षमा ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ । १०र१२ लाख मेट्रिक टन धान अपुग हुन्छ,’ उनले भने, ‘जुन वर्ष ३० प्रतिशत आयात घटाउने भनेर बजेटमा कार्यक्रम ल्याइन्छ, त्यही वर्ष एक दाना पनि मल किसानले पाउँदैनन् । के आधारमा आयात घट्छ

उनले केही दिनअघि कृषि मन्त्री मल खोज्न जानु भएको छ रे भन्ने आफूहरुले सुनेको चर्चा गर्दै उनले अगाडि भने, ‘हामीलाई लागेको थियो, अगाडि अगाडि मन्त्रीको गाडी, पछाडि पछाडि मलको कन्टेनर आउला भन्ने सोचेका थियौं ।’ तर अहिलेसम्म मलको उपलब्धता नभएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।

यो सिजनमा ४ लाख मेट्रिक टन मल आवश्यक हुने भएपनि ७ हजार मेट्रिक टनमात्र मल रहेको, त्यो पनि भन्सार नाकामा छ रे भन्ने सुनेको उनको भनाइ थियो ।