Close Me
१२ माघ २०८१, शनिबार

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्नः विशाल भट्टराई

Bishal Bhattarai
फाइल फोटो

नेकपा एमालेका नेता विशाल भट्टराईले आफ्नो पार्टी जनादेश अनुसार प्रतिपक्षमा बस्ने बताएका छन् ।
‘तत्काल सरकारमा जाने एमालेको कुनै रणनीति छैन । हामी जनादेश पालना गर्दै प्रतिपक्षमा बस्छौं । हामी पर्खन्छौं । कतिन्जेल चल्छ गठबन्धन ? दुई वर्षमै खटपट हुन्छ । त्यसपछि केपी ओली नभए को हुन्छ ?’ एक टेलिभिजनको कार्यक्रममा कुरा गर्दै भट्टराईले भने ।

उनले एमालेले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको प्रस्ताव नगरेको पनि बताए । भट्टराईले भने, ‘कम्युनिस्टहरुको एकता विफल भइसकेको छ । प्रचण्डजीलाई कम्युनिस्ट भन्नु नै बेकार हो । आफ्नै पार्टीको सरकार ढालेर हिँडेको मान्छेलाई कसरी कम्युनिस्ट भन्ने ? उहाँलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको छैन । बरु उहाँले समर्थन गरे भने केपी ओली प्रधानमन्त्री बन्नु होला । एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्नुहुन्न ।’

भट्टराईले पार्टी सचिव रघुवीर महासेठको प्रचण्डसँगको भेट व्यक्तिगत भएको पनि बताए । उनले थपे, ‘प्रचण्ड अस्थिर व्यक्ति हुनुहुन्छ । माओवादी केन्द्र पनि अस्थिरता चाहने शक्ति हो । पहिले पनि उहाँ नेकपा कब्जा गर्छु भनेर आउनुभएको देखियो । पहिले हामीले भोट हालेर जितायौं, यसपटक कांग्रेसले जिताइदियो । अर्को चोटि एक्लै लड्यो भने पाँच सिटमा खुम्चिन्छ ।’

उनले खोटाङमा आफूले हारे पनि पार्टी बलियो रहेको पनि औंल्याए । भट्टराईले भने, ‘स्थानीय तहको निर्वाचनमा हामी गठबन्धनभन्दा १७ हजार मतले पछाडि थियौं । यसपटक मैले जम्मा २, ६६९ मतले हारें । एमालेका निम्ति यो धेरै ठूलो सफलता हो ।’

केपी शर्मा ओलीलाई आफूले बालकोटमा गएर फूलमाला लगाइदिएको पनि उनले बताए । भट्टराईले थपे, ‘केपी शर्मा ओली असाधारण क्षमता र आत्मविश्वास भएको नेता हो । चौतर्फी घेराबन्दीका बाबजुद पनि उहाँकै नेतृत्वमा नेकपा एमाले पहिलो लोकप्रिय मत पाउन सफल भएको छ । मैले बालकोट गएर पार्टी अध्यक्षलाई खादा लगाइदिएँ । मैले भनें, मलाई पनि खादा लगाउन मन थियो तपाईंको हातबाट । गठबन्धनका कारण हारे पनि पार्टी बलियो छ ।’

आगामी महाधिवेशनमा पार्टीले नयाँ नेतृत्व पाउने पनि उनले दाबी गरे । भट्टराईले भने, ‘केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसक्नुभयो । उमेरका कारण पनि एमालेमा नयाँ नेतृत्व आउँछ । शंकर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायतका थुप्रै नेता नेतृत्व गर्न तयार हुनुहुन्छ ।’