७ बैशाख २०८१, शुक्रबार

खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा

Khodpe Bajar

बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ स्थित खोड्पे बजारमा ५ दिन यता खानेपानीको हाहाकार भएको छ । बैतडी दार्चुला र बझाङ जिल्लाका यात्रुहरू आउने चौराहासमेत रहेको यस बजारमा खानेपानीको हाहाकार हुँदा यहाँ आउने यात्रु, व्यापारी र स्थानीयवासी मर्कामा परेका छन् ।

लिफ्ट प्रणालीको खानेपानी धारामा नआउँदा दैनिक दुईदेखि तीन हजार रकम खर्च गरेर टाढाबाट पानी मगाउनु परेको होटेल व्यवसायी मानबहादुर राईले बताए । अन्यत्रबाट ल्याएको पानी ग्राहकलाई पुगाउनै मुस्किल परिरहेको उनले बताए । बजारमा खानेपानी नआउँदा पिउन, खाना पकाउन, गर्मीको समयमा सरसफाइ गर्न समस्या भएको स्थानीय दीपक ऐरले बताए । विद्युत् लाइनमा खराबी आएसँगै खानेपानी अवरुद्ध भएको छ । 

लिफ्ट प्रणालीबाट सञ्चालन गरिएको खानेपानी आयोजना विद्युतको भोल्टेज नपुग्दा अवरुद्ध हुन पुगेको वडाध्यक्ष हरिष विष्टले बताए । बजार व्यवस्थापन समिति अध्यक्ष समेत रहेको विष्टले भने,‘खानेपानी मुहान बाट तान्नका लागि ३सय ८० भोल्टेज आवश्यक पर्छ अहिले ३सय ४० भोल्टेज मात्रै आएको छ । विद्युत् प्राधिकरणसँग निरन्तर सम्पर्कमा छौँ । भोलि सम्म विद्युत् लाइन हेरिदिने भनेका छन् । १/२ दिनमा पानी सुचारु हुनसक्छ ।’

विद्युत् वितरण केन्द्र बैतडीका अनुसार मंगलबार सम्म  विद्युत् मर्मतको लागि प्रविधिक टोली आउने छ । 

खोडपेमा बेला बेला खानेपानीमा समस्या हुँदै आएको छ । खोड्पेमा एक दर्जन बढी कार्यालयहरू, दुई सय बढी पसल तथा होटेलहरू, दैनिक आउने हजारौँ यात्रुहरू समस्यामा पर्ने गर्दछन् ।