२६ बैशाख २०८१, बुधबार

मन्त्री बन्न नपाएको झोक पार्टी र गठबन्धनमा देखिँदै !

mini

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय प्रधानमन्त्री देउवाले अस्वीकार गरेपछि यसको असर पार्टी र गठबन्धनसम्मै देखिने खतरा बढेको छ । यो निर्णयले सरकार अल्पमतमा पर्ने र जसपा फुटको संकट टरेपनि एकीकृत समाजवादी भित्रै भने विद्रोह सुरु भएको हो । पार्टीका केही नेताहरुले गठबन्धन नै छोड्ने सम्मको चेतावनी दिएका छन ।

नयाँलाई मन्त्रिपरिषद्मा पठाउने एकीकृत समाजवादीको निर्णय प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकृत गरिदिएपछि अहिले एकीकृत समाजवादीमा तरंग आएको छ । आईतबार एकीकृत समाजवादीले चार जना पुराना मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्त गर्न नामावली बुझाएको थियो । पार्टीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठ र भवानी खापुङ स्वास्थ्य राज्यमन्त्रीले स्वास्थ्य राज्यमन्त्रीको पद सम्हालीरहेका थिए ।

पछिल्लो तयारी अनुसार राज्यमन्त्री खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएर जीवनराम श्रेष्ठलाई पर्यटन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुवँरलाई श्रम रोजगार र हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री दिने बताईएको थियो । अध्यक्ष माधवकुमार नेपालले आइतबार बिहान प्रधानमन्त्री देउवालाई पार्टीले यसअघि नै ६ महिनामा मन्त्री परिवर्तन हुने निर्णय लिएको बताएका थिए  । जसमा प्रधानमन्त्री देउवाले सकारात्मक जवाफ दिएका थिए । त्यसपछि नेपालले पार्टी सचिवालयको बैठक बोलाएर पुराना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गराए ।

तर पछिल्लो समयमा आएर प्रधानमन्त्री देउवाले छिटो–छिटो मन्त्री परिवर्तन गर्दा राम्रो सन्देश नजाने र बजेट पनि पास नभइसकेको अवस्थामा मन्त्री परिवर्तन गर्न नहुने अडान लिएपछि मन्त्रीको निर्णय अलपत्र परेको थियो । देउवाको यो निर्णयप्रति एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आपत्ति जनाएका छन् ।

आफै प्रधानमन्त्री बनिसकेका खनाल तथा नेपाललाई मन्त्री बनाउने प्रक्रिया थाह नहुने कुरै भएन । तर मन्त्रिपरिषद् हेरफेरकै कारण पार्टीमा विवाद चर्कियो र जसपा फुट्यो भने बजेट पारित गर्न कठिन अवस्था आउने भन्दै जोखिम लिन नहुने निष्कर्षमा माधव नेपाल पुगेको बुझ्न सकिन्छ । जसले जसपा पनि तत्काललाई फुटबाट जोगिएको छ । तर मन्त्री परिवर्तनको विषय अलपत्र परेपछि एकीकृत समाजवादीमा विवाद बढेको छ ।

आफूहरूलाई फिर्ता बोलाउने निर्णयप्रति बहालवाला मन्त्रीहरूले चर्को असन्तुष्टि जनाएका छन् भने मन्त्री बन्न ठिक्क परेकाहरूले जसरी पनि पुराना मन्त्री फिर्ता बोलाउनुपर्ने अडान राखेका छन् । श्रममन्त्रीमा सिफारिस शेरबहादुर कुँवरले त यस्तो हस्तक्षेपले गठबन्धनमै संकट आउने सार्वजनिक अभिव्यक्ती नै दिईसकेका छन ।

तर यो निर्णयबाट पार्टी पछि नहटेको तर विद्यमान परिस्थितीका कारण मात्र केहि दिनलाई थाती राखिएको नेता जयन्ती राईको भनाई छ । अव केहि समयपछि यो निर्णय कार्यान्वयमा जाने र वहालवाला मन्त्रीहरु फिर्ता हुनुपर्ने उनको भनाई छ । यो अचानक गरिएको निर्णय नभई पहिल्यै सहमती भएको विषय भएकोले कसैले चित्त दुखाउन आवश्यक नरहेको उनको भनाई छ ।

वहालवाला मन्त्रीहरु भने विना जानकारी यो निर्णय लिएको भन्दै असन्तुष्ट बनेका छन । फलत ः निर्णय सार्वजनिक हुनासाथ उनीहरु निर्णय कार्यान्वयन नगराउन सक्रियताका साथ लागि परेका थिए । तर यो प्रयासले निर्णय केहि दिन धकेलिए पनि टर्ने सम्भावना भने छैन । त्यस्तै अहिले सिफारिस भएर सपथका लागि तयार नै भईसकेकाहरु पनि पछि हट्ने स्थिती छैन ।

फलत एकीकृत समाजवादीलाई निर्णय कार्यान्वयमा चुनौती देखिएको छ । अर्कातर्फ यहि कारण जसपा समेत फुट्ने सम्भावनाका वीच ढिलोचाडो मन्त्री हेरफेरको चस्का गठबन्धनसम्मै पुग्ने देखिन्छ । जसको निवारणका लागि देउवाले थालेको लोसपा फकाउने अभियानले क्षती कति परिपूर्ती गर्छ त्यो हेर्न भने केहि समय कुर्नुपर्ने हुन्छ ।