२३ बैशाख २०८१, आईतवार

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छोड्ने मन्त्री र नेताहरुको दाबी

Nijgadh airport

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनु भनि सर्वोच्च अदालतले दिएको आदेश गलतभएको भन्दै मन्त्रीहरुले चर्को आलोचना गरेका छन् । सोमबारको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्रीहरुले विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउनबाट सरकार पछि नहट्ने बताएका छन् ।

सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढाउने कुरा सरकारको नीति तथा कार्यक्रममा आइसकेको र राष्ट्रिय योजना आयोगमा समेत एयरमार्क भइसकेकाले सरकार पछि नहट्ने बताएका हुन् । उनले सरकार दृढतापूर्वक अगाडी बढ्ने बताए । मन्त्री आलेले हेलिकप्टर र हवाइजहाजहरु युरोपबाट ‘सेकेन्डह्यान्ड’ मा किनेर नेपालमा प्रयोग गरिने गरेको बताउदै पुरानो जहाज प्रयोग गरेर मानिसको जीवनको खेलवाड गरिएको भन्दै जहाजहरुको पुरै इन्जिनियरिङ सर्वे गरेर मात्रै प्रयोग गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।

बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताए । अध्यक्ष नेपालले राज्यका कुनैपनि निकाय विकासको सहयोगी हुनुपर्ने बताए । विकास निर्माणको काममा बाधा उत्पन्न हुने किसिमको कुनैपनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने नेपालको भनाइ छ । नेपालले अदालतको फैसलाको पाठको आधारमा निर्माण कार्यलाई अगाडी बढाउनुपर्ने धारणा व्यक्त गरे ।

त्यसैगरी, नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताए । उनले विमानस्थल बनाउन नसके ठुलो मूल्य चुकाउनुपर्ने बताए । यसका लागि आवश्यक परेमा सर्वदलिय सहमती गरेर पनि काम गर्नुपर्ने उनको भनाई छ । नेकपा (एमाले)का सांसद भीम रावलले कानून परिवर्तन गरेर भएपनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए ।

सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भएपनि यो विमानस्थल निर्माण गर्नुपर्नेमा उनको जोड थियो । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडी परिने टिप्पणी गरे । उनले कानून परिवर्तन गरेर भएपनि सो आयोजनालाई छिट्टै सम्पन्न गर्नुपर्ने बताए । निर्माण सम्पन्न गर्न नदिने सर्वोच्चको फैसला खारेज गर्ने दिशामा जानुपर्ने उनको भनाई छ । उनले निजगढ विमानस्थल निर्माण हुन नदिनु आपत्तिजनक र खेदजनक रहेको बताए ।