२२ बैशाख २०८१, शनिबार

सुनिता र बालेनको निरन्तर अग्रता काठमाडौं महानगरमा

balen sunita

काठमाडौं महानगर प्रमुखमा २२ हजार ९६५ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता निरन्तर कायमै रहेको छ । महानगरको निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार बिहीबार साँझ ७ बजेसम्म ६० हजार ८९० मतगणना हुदा नेकपा (एमाले) का स्थापितको मत १२ हजार १२० र नेपाली कांग्रेसकी सिर्जना सिंहको ११ हजार ४१४ मत प्राप्त भएको छ ।

प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले एक हजार ९७८, स्वतन्त्र उम्मेदवार सुमन सायमीले एक हजार ३५९ मत ल्याउनुभएको छ । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा २१९, मादलमा ३९, चक्का पाङ्ग्रोमा १९, दाबसहितको खुकुरीमा सात, कुखुराको भालेमा सात, खानेपानीको धारामा २३, किताबमा ८५, हृदयमा १५, कि–बोर्डसहितको कम्युटरमा एक, सांचोमा सात, पुतलीमा चार, भुँइकटरमा एक मत प्राप्त भएको छ ।

यसैगरी उपप्रमुखमा गठबन्धनतर्फका नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले सात हजार ४५२ मत ल्याउनुभएको छ । एमालेकी सुनिता डंगोलको भने २२ हजार ५२२ मत रहेको छ । उपप्रमुखमा निर्वाचन चिन्ह तराजुमा ९२०, हलोमा सात हजार ४५२, मादलमा ६४, चक्का पाङ्ग्रोमा ३५, किबोर्डसहितको कम्युटरमा १६, खरायोमा २१, भुँइकटहरमा दुइ, आँपमा पाँच, लौरोमा दुई हजार ७८५, खानेपानीको धारमा सात, आँखीझ्यालमा एक हजार ७६३ मत प्राप्त भएको छ ।

महानगरको वडा नं. १, २,३, ४ र ५ को मतपरिणाम घोषणा भइसकेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वडा नं. ४, ६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ ।