१४ बैशाख २०८१, शुक्रबार

दश जना उमेदवार निर्विरोध निर्वाचित ताप्लेजुङमा

TAPLEJUNG

आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उमेदवार निर्विरोध निर्वाचित भएका छन्। उहाँहरुको विरुद्धमा उम्मेद्वारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेद्वारी समेत फिर्ता भएसँगै निर्विरोध हुनुभएको बताइएको छ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाका वडाअध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन्।

पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित दश जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ।

नेपाली कांग्रेसबाट तीन जना उम्मेदवार नेपाल निर्विरोध निर्वाचित हुनुभएको छ। कम्युनिष्ट पार्टी एमालेबाट एक जना र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रबाट एक जना उम्मेद्वार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै ओलाङचुङगोलामा भने वडाअध्यक्षसहित पाँच स्वतन्त्र उम्मेद्वार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध भएक हुन्।

कांग्रेसबाट सिरिजंगा गाउँपालिका–८ याम्फुदिन र मिक्काखोला गाउँपालिका–३ लिवाङमा दलित महिला सदस्यमा उम्मेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन्।

यस्तै फताङ्लुङ गाउँपालिका–६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध हुनुभएको हो। यस्तै मिक्काखोला-५ पापुङमा माओवादीबाट उम्मेद्वारी दिनुभएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध हुनुभएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले बताउनुभयो।