१७ बैशाख २०८१, सोमबार

‘रूखमै मत हाल्न पाउनुपर्छ भन्दा म कारबाहीमा परें’, भरतपुर मेयरका उम्मेदवार जगन्नाथ

jaganath poudel

नेपाली कांग्रेसको असन्तुष्ट कार्यकर्ताको नेतृत्व गर्दै भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चुनाव चिन्ह ‘भुइँकटहर’ पाएसँगै चुनावी अभियान सुरू गरेका छन्।

शनिबार भरतपुरस्थित क्यान्सर अस्पताल परिसरमा रहेको बिपी कोइरालाको शालिकमा माल्यार्पण गरेर उनले चुनावी अभियान सुरू गरेको घोषणा गरे।

नेपाली कांग्रेसका चारतारे झण्डाको साथमा बिपी कोइरालाको शालिक अगाडि उभिएर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथले कांग्रेसमा देखिएको विकृतिविरूद्ध एक भएर लड्न कार्यकर्ताहरूलाई आह्वान गरे।

‘पार्टी विसर्जनमा पर्‍यो, रूखमाथि अन्याय भयो। रूखमै मत हाल्न पाउनुपर्छ भन्दा म कारबाहीमा परें। मैले कांग्रेसको विरूद्धमा, रूखको विरूद्धमा उम्मेदवारी दिएको छैन,’ उनले भने, ‘म ५० वर्षदेखि निष्ठापूर्वक कांग्रेसको सेवा गर्दै आएको छु। कांग्रेस पार्टीभित्र झाँगिँदै गएको विकृतिविरूद्ध एकसाथ लडाइँको मोर्चामा उभिन आह्वान गर्छु।’

पौडेलले आफूले हिँडेको बाटो नै भोलिको मूल बाटो भएको दाबी गर्दै कांग्रेसबाट निर्वाचित सबैले सहयोग गर्ने आशा व्यक्त गरे।

‘अपवित्र गठबन्धनबाट मुक्ति पाइँदैन, विकास समृद्धि र लोकतन्त्र सुदृढ हुँदैन,’ पौडेलले भने, ऐक्यबद्ध भएर लाग्नुहोला प्राविधिक कारणले बाहिर देखिन नमिले मन वचनले लाग्नु होला।’

उनले कांग्रेसले गरेको गठबन्धनले लोकतन्त्रको भविष्य खतरामा दाबी गर्दै त्यसमा संलग्न नहुन भरतपुरका कार्यकर्ताहरूलाई आग्रह गरे।

महानगरपालिकाका २९ वटै वडामा विग्रह खडा गरेर निर्वाचनको प्रचार सुरू गर्ने उनले बताए।

बिपीको शालिकलाई साक्षी राखेर भरतपुरलाई भ्रष्टाचारमुक्त समृद्ध सहर बनाउने संकल्प गरेको उनले बताए।

पौडेललाई मेयर बन्न प्रस्ताव गरेका कांग्रेस चितवनका पूर्वसभापति कृष्णलाल सापकोटाले पार्टीको कारबाहीले आफू विचलित नभएको बताए।

उनले जनताले स्वतन्त्रतापूर्वक मतदान गर्न पाउनु लोकतन्त्र भएको भन्दै पार्टीले सत्ताको लोभमा माओवादीसँग गठबनधन गरेर हुकुम लादेको आरोप लगाए।

पूर्वसांसद भीमबहादुर श्रेष्ठले राजनीति सेवा हो भन्ने प्रतिबद्धताका साथ बिपी कोइरालाको अगाडि उभिएर विचलित नहुने कसम खाएको बताए।

शुक्रबार उम्मेदवारी फिर्ता नगरेपछि मेयरका उम्मेदवार पौडेल, प्रस्तावक सापकोटा र समर्थक कांग्रेसकी महासमिति सदस्य मिना खरेल स्वतः निलम्बनमा परेका छन्।

पाँच दलीय गठबन्धनले भरतपुरको मेयर माओवादी केन्द्रलाई दिनेगरी भागबण्डा गरेपछि नेपाली कांग्रेस चितवनमा ठूलो असन्तुष्टि देखिएको थियो। त्यो असन्तुष्ट समूहको प्रतिनिधित्व गर्दै पौडेलले भरतपुरको मेयरमा उम्मेदवारी दिएका थिए।

उनको उम्मेदवारी फिर्ता गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सहित सरकारका प्रभावशाली मन्त्रीहरू नै सक्रिय भएका थिए। तर पौडेल उम्मेदवारी फिर्ता लिन नसक्ने अडानमा थिए।

भरतपुरको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल र नेकपा एमालेबाट विजय सुवेदी उम्मेदवार छन्। ३० जनाले मेयरका लागि उम्मेदवारी दिएकोमा बिहीबार ३ जनाले फिर्ता लिएका थिए।