८ बैशाख २०८१, शनिबार

मेयरका तीन उम्मेदवारसहित दिक्तेल रुपाकोटका १० जनाले गरे मनोनयन फिर्ता

khotang diktel

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका तीनसहित १० उम्मेदवारले मनोनयन फिर्ता लिएका छन् । मेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी दुर्गाजयन्ती राई, जसपाका सूर्यबहादुर राई, स्वतन्त्र उम्मेदवार विकास राई र उपमेयरका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का भागवत घिमिरेले उम्मेदवारी फिर्ता लिएका हुन् ।

मेयर र उपमेयरका उम्मेद्वारले गठबन्धनका उम्मेद्वारलाई सघाउनेगरी उम्मेद्वार फिर्ता गरेका हुन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । तर, कांग्रेसभित्र टिकटको किचलो भएपछि अन्य पार्टीबाट मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको थियो । कांग्रेस प्रदेश १ ले धर्मराज पोखेरल र केन्द्रले तिर्थराज भट्टराईलाई टिकट दिएपछि कांग्रेसभित्र टिकटको विवाद चर्केको थियो । अन्तमाः पोखरेलले भट्टराईलाई मेयरको टिकट छाडेपछि अन्य दलकातर्फबाट परेका उम्मेद्वारी फिर्ता भएको हो ।

१५ वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ६ वडाध्यक्ष र एक वडा सदस्यले मनोनयन फिर्ता गरेको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले जानकारी दिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरका लागि गठबन्धनबाट भट्टराई र उपमेयरमा माओवादी केन्द्रका बिसन राई, एमालेबाट मेयरमा कुमार आचार्य र उपमेयरमा बिणादेवी राई, राप्रपाबाट मेयरमा जीवनकुमार श्रेष्ठ र उपमेयरमा चन्द्रकुमारी राई, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा सुवास राई चुनावी मैदानमा छन् ।

हलेसी तुवाचुङमा दुई उपमेयर चुनावी मैदानबाट बाहिरिए

हलेसी तुवाचुङ नगरपालिकामा दुई उपमेयरसहित १३ जनाको उम्मेदवारी फिर्ता भएको छ । राप्रपाबाट उपमेयरका उम्मेदवार बनेका एबिना राई, नेकपा एकीकृत समाजवादीका भूमिराज राई सहितले मनोनयन फिर्ता लिएका हुन् । सो नगरपालिकामा तीन वडाध्यक्ष, चार खुला वडा सदस्य, दुई दलित महिला सदस्य र दुई महिला सदस्यले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकारी गौतमले जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसबाट मेयरमा बिमला राई र उपमेयरमा रमेश राउत, एमालेबाट मेयरमा खडेन्द्र राई र उपमेयरमा तुलसा बुढाथोकी, माओवादी केन्द्रबाट मेयरमा रुसिका राई र उपमेयरमा अमेम्बर राईको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै, जसपाबाट मेयरमा अञ्जिल राई, राप्रपाबाट मेयरमा छत्र पुरी, खम्बुवान राष्ट्रिय मोर्चाबाट मेयरमा तुलसीकुमार राई, मंगोल नेशनल अर्गनाइजेसनबाट मेयरमा बिनेश राई चुनावी मैदानमा छन् । कांग्रेसका मेयरमा उम्मेदवार राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपमेयरमा विजयी भएकी थिइन् । माओवादी केन्द्रबाट उपमेयरको उम्मेदवार बनेका राई सो पार्टीका केन्द्रीय निर्वाचन आयोगको सदस्य छन् ।

जन्तेढुंगा गाउँपालिकामा अध्यक्षका एक र उपाध्यक्षका एकसहित ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाका अध्यक्षका उम्मेद्वार देवेन्द्र श्रेष्ठ, उपाध्यक्षका उम्मेदवार सीता राई लगायतले मनोनयन फिर्ता लिएका हुन् । सो गाउँपालिकामा वडाध्यक्षका एक, खुला वडासदस्यका दुई र महिला सदस्यका एकले उम्मेद्वारी फिर्ता गरेका छन् । जन्तेढुंगामा अध्यक्षमा गठबन्धनकातर्फबाट नेकपा माओवादी केन्द्रका अरुणादेवी राई र उपाध्यक्षमा कांग्रेसका खेमबहादुर खड्का, एमालेबाट अध्यक्षमा शंखरबहादुर राई र उपाध्यक्षमा बिमला राई चुनावी मैदानमा छन् ।

केपिलासगढी गाउँपालिकामा माओवादी केन्द्रबाट उपाध्यक्षका उम्मेद्वार बनेका साङ्गे शेर्पासहित सात जनाले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै, वडाध्यक्षका तीन, दलित महिला सदस्यका एक, महिला सदस्यका एक र खुला सदस्यका एक जनाले मनोनयन फिर्ता लिएका छन् ।

केपिलासगढीमा कांग्रेसबाट अध्यक्षमा समिर राई र उपाध्यक्षमा राधा गिरी, एमालेबाट अध्यक्षमा कृष्णकुमार राई र मैयाँ सुनुवार, गठबन्धनकातर्फबाट अध्यक्षमा नेकपा एकीकृत समाजवादीका माइतीराज राई र उपाध्यक्षमा जनता समाजवादीका गुरुराज राईले उम्मेद्वारी दिएका छन् । केपिलासगढी गाउँपालिकामा कांग्रेस बाहेकको गठबन्धन बनेको हो ।

साकेला गाउँपालिकामा मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा उम्मेदवारी दिएका कबि राईले उम्मेदवारी फिर्ता लिएका छन् । सो गाउँपालिकामा नेकपा माओवादी केन्द्रकोतर्फबाट अध्यक्षमा अर्जुनकुमार खड्का र उपाध्यक्षमा बिर्सिका राई, कांग्रेसकोतर्फबाट अध्यक्षमा रविप्रकाश राई र उपाध्यक्षमा सरिता खड्का उठेका छन् ।

यस्तै, एमालेबाट अध्यक्षमा गोपीकृष्ण खड्का, उपाध्यक्षमा दिलकुमारी राई र जसपाबाट उपाध्यक्षमा जयकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । साकेलामा उपाध्यक्षमा गठबन्धनकै दुई जनाको उम्मेदवारी परेको छ । न्युज कारखाना