५ जेष्ठ २०८१, शनिबार

आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई पक्राउ

arest

वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् ।

मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसहित पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले रु ९ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति रु १ लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।

त्यसपछि उनीहरू फरार रहेकामा वैदेशिक रोजगार विभागबाट पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको जनाइएको छ ।