५ जेष्ठ २०८१, शनिबार

नेपाल सांस्कृतिक सङ्घद्वारा नेपाली काँग्रेसको चुनावी गीत सार्वजनिक

cultural sang 1

नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाली सांस्कृतिक सङ्घले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका पक्षमा मतदानको वातावरण तयार पार्ने चुनावी गीत सार्वजनिक गरेको छ ।

“काँग्रेसलाई जिताऔँ” बोलको सो गीत वरिष्ठ गीतकार कृष्णहरि बरालको शब्द, वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको सङ्गीत, राधिका हमाल, सुजाता के.सी., शशीविक्रम थापा र आलिन खानको स्वर तथा मनोज के.सी.को निर्देशनमा तयार भएको हो ।

गीतमा नेपाली काँग्रेसलाई मतदान गर्नुपर्ने कारणसहित नागरिकहरूलाई रुख चिन्हमा मतदान गर्न अनुरोध गरिएको छ ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यालय बि.पी. स्मृति भवन, सानेपा ललितपुरमा एक कार्यक्रमबिच गीतलाई नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गर्नुभएको थियो ।

“चुनावी प्रतिस्पर्धामा कस्तो संस्कृति ?” विषयक विचार गोष्ठी तथा नेपाली काँग्रेसको विजय अभियानका लागि नेपाल सांस्कृतिक सङ्घद्वारा तयार गरिएको चुनावी गीत तथा प्रचार प्रसार सामग्री सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले निर्वाचनलाई लोकतान्त्रिक संस्कृति अनुरूप बनाउन सात प्रस्ताव अगाडि सार्नुभएको छ ।

उहाँले चुनावमा प्रचारप्रसारलाई संयमित र मैत्रीपूर्ण बनाउनुपर्ने, विगतमा गरिएका गल्ती र कमजोरीका बारेमा जनतासँग माफी माग्नुपर्ने, आलोचना सुन्ने संस्कारको विकास गर्नुपर्ने, जनतालाई असम्भव सपना देखाउन नहुने, आचारसंहिता र संवैधानिक अधिकारको पालना हुनुपर्ने, अपारदर्शी र फजुल खर्च रोक्नुपर्ने र निर्वाचनको परिणामलाई स्वाभाविक रुपमा स्विकार्ने परम्पराको थालनी गर्नुपर्ने बताउनुभयो ।

cultural sang 2

कार्यक्रममा नेपाली काँग्रेसका नेता गुरु घिमिरेले गीत र सङ्गीतले सबैलाई मुग्ध बनाउने भएकोले नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घले चुनावी गीत ल्याएर प्रशंसनीय कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल सांस्कृतिक संघका बुद्धिबहादुर राना, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभू घिमिरे, गायिका राधिका हमालले पनि बोल्नुभएको थियो ।

नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघका महासचिव शिवशङ्कर रिजाल (जोगेन्दर पानवाला)ले गर्नुभएको थियो ।