१९ बैशाख २०८१, बुधबार

ताकेतापछि पनि बागी फिर्ता नहुने, भरतपुर मिलाउन गृहमन्त्रीको बास

balkrishna khand in chitwan

चुनावी तालमेललाई प्रमुख बनाएर भागबण्डा बाँडफाँड गरेको सत्ता गठबन्धन महानगरमै असफल भएपछि संकटमा परेको छ ।

गठबन्धनबाटै परेका बागीलाई मिलाउन चुनौती छ । तर केन्द्रबाट निर्णय लाद्न छोडिएको छैन । केन्द्रमा बसेका नेताहरु दिनहुँजसो बालुवाटारमा भेला हुन्छन् र तल्लो तहलाई निर्णय कार्यान्वयनको निर्देशन चलाउँछन् । तर स्थानीय तहमा गठबन्धन तहसनहसकै अवस्थामा छ ।

महानगरमै सफल नभएको गठबन्धन अधिकांश स्थानीय पालिकामा कार्यान्वयन भएको छैन । केन्द्रले निर्णय लादेपछि कतिपय स्थानमा बागी परेको छ, जसलाई फिर्ता गर्न फकाउने कि तर्साउने गठबन्धनका लागि निकै चुनौतीपूर्ण छ । तर शिर्ष नेतृत्व निर्णय गर्नबाट पछि हटेको छैन ।

बरु बुधबार पनि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले चुनावी तालमेल कार्यान्वयन गर्न स्थानीय नेतृत्वलाई दबाब दिएको छ । सबैभन्दा चर्चामा रहेको चितवनको भरतपुर महानगरमा गठबन्धनले साझा उम्मेदवार उठाउने सहमति गरेको थियो ।

केन्द्रको सहमतिअनुसार नै माओवादी केन्द्रबाट प्रमुखमा रेनु दाहाल र कांग्रेसबाट उपप्रमुखमा चित्रसेन अधिकारीले उम्मेदवारी दिए । तर, कांग्रेसकै नेता जगन्नाथ पौडेलले बागी उम्मेदवारी दर्ता गरेका छन् ।

काँग्रेसकै मत विभाजित भएर रेनुले चुनाव हार्ने सम्भावना छ । जसको बन्दोबस्ती मिलाउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बिहानै चिवतन पुगेर बेलुका काठमाडौं फर्किए ।

अवस्थामा परिवर्तन नआएपछि होकी बागीमाथि दबाब दिन हो ? प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबारदेखि गृहमन्त्री बालकृष्ण खाणलाई चितवन बसाएका छन् ।

विहिबारदेखि राज्यमन्त्री उमेश श्रेष्ठ पनि चितवनमै छन् ।त्यतिमात्रै नभएर विहिबार नै प्रधानमन्त्री देउवाले बागी जतिले उम्मेद्वारी फिर्ता लिन सार्वजनिक अपिल गरेका छन् । तर बागीहरु अडान परिवर्तनको मुडमा छैनन् । केन्द्रको सहमति अनुसार पोखरा महानगर एकीकृत समाजवादीको भागमा परेको छ ।

प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । तर काँग्रेसकै तीन नेताले बागी उम्मेद्वारी दिएपछि गठबन्धनमा फर्साद परेको छ ।

गठबन्धनको नेतृत्व गर्ने काँग्रेस र काँग्रेसकै नेताहरुबाट अधिकांश बागी आएपछि अन्य दल आत्तिएका छन् । विपक्षी एमाले गठबन्धन सफल नभएको फाइदा उठाउने तयारीमा छ । गठबन्धनबीच पूर्ण तालमेल मात्रै होइन कतिपय पालिकामा गबठन्धनभित्रका दलहरुले अर्काे गठबन्धन तयार पारेका छन् ।

काँग्रेसबाट अलग्गीएर माओवादी र समाजवादीको गठबन्धन बन्दा कतिपय स्थानमा एमाले र काँग्रेसबीच तालमेल बनेको छ । हुम्लाको चंखेली गाउँपालिकामा त एमाले र एकीकृत समाजवादीले तालमेल गरेका छन् । तर गठबन्धनका शीर्ष नेताहरुले बुधबार पनि कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने निर्णय गरेका छन् ।

वैशाख ३० को निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो । शुक्रबारसम्म उम्मेद्वारी फिर्ता नलिए निर्वाचन आयोगले यही दिन अन्तिम नामावली प्रकाशन गर्नेछ । तर नेताका एकथरि निर्णय र कार्यकर्ताका अर्काेथरी चाहनाले गठबन्धननै तहसनहस बनेको हो ।