१५ बैशाख २०८१, शनिबार

मदिरादेखि मोटरसाइकल र टेलिभिजन सम्मका बस्तुमा प्रतिवन्ध

udhyog

विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि विलासिताका वस्तु आयातमा रोक, मदिरादेखि मोटरसाइकल र टेलिभिजन सम्मका बस्तुमा प्रतिवन्ध, अर्थतन्त्र सुधारिने अपेक्षा । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले मदिरादेखि मोटरसाइकलसम्मका विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मदिरा, मोटरसाइकल, कार जीप भ्यान, हिरा, टेलिभिजनलगायतको आयातमा कडाइ गर्ने निर्णय गरेको हो । अर्थतन्त्रका सुचकमा निरन्तर गिरावट आउन थाले पछि सरकारले हप्तामा दुई दिन विदा र केहि विलासिताका सामान आयतमा पुर्ण रुपमा रोक लगाएको छ ।

विदेशी मुद्राको सञ्चिति ७ महिनाको मात्रै आयात धान्न सक्ने अवस्थामा ओर्लेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ थालेको हो । यसअघि बैंक तथा वित्तीय संस्थाले पनि मोबाइल लगायतका सामग्रीको आयातमा एलसी नखोल्ने निर्णय गरिसकेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी उक्त सामग्रीको आयातमा प्रतिबन्ध लगाएको हो । भन्सार विभागका अनुसार बङ्गलादेश, चीन, भारत, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, साउदी अरब, ताइवान, अमेरिका र बेलायतबाट चिजबल, लेज, कुरकुरे जस्ता सामग्री आयात भएका छन् । त्यस्तै, सरकारले ५८ प्रकारका रक्सी तथा रक्सीजन्य पदार्थको आयातमा समेत प्रतिबन्ध लगाएको छ ।

उद्योग मन्त्रालयका अनुसार चुरोट तथा सुर्तीजन्य वस्तु आयातमा प्रतिबन्ध लागेको सूचनामा उल्लेख छ । उद्योग मन्त्रालयका अनुसार हिरा (औद्योगिक कच्चापदार्थ बाहेक )का सामग्री आयातमा प्रतिबन्ध लागेको छ । त्यस्तै, ६०० अमेरिकी डलरमाथिको मोबाइल सेटको आयात समेत तत्कालका लागि रोक लगाइएको छ । सरकारले ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन पनि आयात गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । त्यस्तै, जीप, कार र भ्यान आयात गर्न रोक लागेको छ । एम्बुलेन्स र शववाहन बाहेकका कुनै पनि सामग्री आयात गर्न नपाइने मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ । त्यसैगरी २५० सिसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौना, तास आयातमा प्रतिबन्ध लागेको छ ।

पैठारीमा बन्देज लगाइएका ती वस्तु नेपालस्थित कूटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैँले भने आयात गर्न कुनै बाधा नपर्ने सूचनामा उल्लेख छ । विदेशी मुद्राको सञ्चितिमा चाप पर्दै गएपछि सरकारले अत्यावश्यक बाहेकका सबै सामग्री आयातमा क्रमशः प्रतिबन्ध लगाउँदै आएको छ । अर्थ मन्त्रालयले विलासी सवारी साधनलगायतका सामग्रीको हकमा एलसी नखोल्नसमेत आग्रह गरिसकेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत फागुन मसान्तसम्म नेपालको बैंकिङ प्रणालीमा कूल ९ अर्ब ५८ करोड अमेरिकी डलर मौज्दात रहेको छ । चालु आवको ८ महिनामा अमेरिकी डलरको सञ्चितिमा १८.५ प्रतिशतले कमी आएको छ । डलर सञ्चिति ओरालो लागेपछि सरकारले अत्यावश्यक बाहेकका सबै वस्तुको आयातमा रोक लगाउनु परेको जनाएको छ ।